काठमाडौं – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गर्डिओलाले टोलीका कप्तान बर्नान्डो शिल्भाले लिभरपुलविरुद्धको खेल खेल्नेरनखेल्ने अनिश्चित रहेको बताएका छन् ।
बुधबार न्युक्यासललाई ३–१ ले पराजित गर्दै सिटीले काराबाओ कपको फाइनलमा स्थान बनाएको थियो । उक्त खेलपछि उनले सञ्चारकर्मीलाई शिल्भाले लिभरपुलविरुद्धको खेल खेल्ने अनिश्चित रहेका बताए ।
‘शिल्भाले खेल्ने वा नखेल्ने यकिन भएको छैन । बर्नान्डो टिमका एक प्रमुख खेलाडी हुन् । उनलाई गम्भिर चोट लागेको छैन । केही दिनमा चोटको बारेमा यकिन गरिनेछ,’ उनले भने, ‘उनलाई खेलमा उपस्थित गराउने प्रयासमा छौँ,’ गर्डिओलाले भने ।
गत आइतबार इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटनहमविरुद्धको खेलमा शिल्भा घाइते भएका थिए । खुट्टाको मासंपेशीमा चोट लागेपछि ८८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । म्यानचेस्टरले प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्ध आगामी फेब्रुअरी ८ मा खेल्ने तालिका छ ।