शास्त्रीय संगीतका साधक सजल

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
शास्त्रीय संगीतका साधक सजल

२०६५ सालमा रेडियो नेपालले राष्ट्रिय गायन प्रतियोगिता गरेको थियो। सजल न्यौपाने बुबासँग गीत गाउन रेडियो नेपालको हलमा पुगेका थिए। बुबा सागर न्यौपाने संगीतकार थिए। सजलले गाउने गीतको शब्द रवि प्राञ्जलको थियो। ‘पहिलो प्रस्तुति नै मेरो थियो,’ त्यो दिन सम्झिँदै सजल भन्छन्, ‘तर, गीत गाउनुअगाडि के–के नमिलेजस्तो लागिरहेको थियो।’ पछि थाहा पाए उनले, बुबाले बजाइरहेको हार्मोनियम ‘स्केल चेन्जर’ रहेछ। ‘सी’ कर्ड बजाएको सोच्दा ‘बी’ कर्ड बजेको रहेछ। 

प्रतियोगितामा सफल हुन सकेनन्, सजल। मेलिना राई त्यो साल प्रथम भएकी थिइन्। सजलले रेडियो नेपालको प्रतियोगितापछि अन्य प्रतियोगितामा भाग नलिने संकल्प गरे। भन्छन्, ‘गायनलाई राम्रो÷नराम्रो भनेर छुट्याउन सकिँदैन। मन पर्ने र मन नपर्ने भन्न मिल्छ। कसैको गायनलाई प्रतियोगिताले मापन गर्न नसक्ने लागेर प्रतियोगितामा भागै लिन छाडेँ।’

सजलको बाल्यकाल काठमाडौँ, महाँकालवरपर बित्यो। बाल्यावस्थादेखि नै उनी शास्त्रीय संगीततिर मोडिए। ‘घरमा बुबाले बजाएको सुन्दा, क्यासेटमा बज्ने गीत सुन्दासुन्दै थाहै नपाई यतातर्फ ध्यान मोडियो,’ उनी भन्छन्। सजल र उनका दाइ क्यासेटमा गुलाम अली, मेहदी हसन, नारायणगोपाल, बच्चु कैलाशका गीत सुन्थे। अनिल सिंह, नवीन के. भट्टराई लगायतका गीत नसुनेका होइनन्। ‘तर, पप, ज्याजभन्दा मलाई शास्त्रीय संगीतमा बढी रुचि थियो,’ उनी सुनाउँछन्, ‘खाली क्यासेट भेट्नेबित्तिकै हाम्रो काम त्यसमा आफ्नो आवाज रेकर्ड गर्ने हुन्थ्यो।’

पाँच कक्षामा पढ्दै गर्दा पहिलो पटक उनले संगीतको औपचारिक शिक्षा सुरु गरे। त्यस बेला उनकी शिक्षिका थिइन्, गायिका कुन्ती मोक्तान। ‘उहाँले संगीत सिकाउनुहुन्थ्यो,’ सजल भन्छन्, ‘बालगीत प्रतियोगितामा मलाई भाग लिन प्रेरित गर्नुहुन्थ्यो।’ स्कुलमा संगीत सिकिरहेका थिए नै, स्कुलबाहिर पनि औपचारिक संगीत सिक्न थाले उनले। सम्झिन्छन्, ‘मेरो संगीतको गुरु शारदा क्षत्रीकोमा बुबाले लैजानुभयो। त्यहाँबाट औपचारिक शिक्षा सुरु भयो।’

स्कुल पढ्दाताका नै उनले विज्ञापना ‘जिंगल’ गाएका थिए। बिस्तारै–बिस्तारै भजन पनि गाउन थाले। ‘किरातेश्वर संगीत आश्रममा गएर भजनसँगै भक्ति–संगीत गाउने गर्थें,’ उनी सम्झन्छन्, ‘त्यहाँ आउने अग्रजबाट पनि धेरै सिकेँ।’ आठ कक्षामा पुगेपछि भने पहिलो गीत रेकर्ड गराएको सम्झिन्छन्, उनी। भैरव रिमालको शब्द र बुबा सागर न्यौपानेको संगीतमा उनले दुई गीत रेकर्ड गराएका थिए। नेपाल टेलिभिजनले निर्माण गरेका दुवै गीत देशभक्तिका थिए।

संगीत एकातिर थियो, अर्काेतिर औपचारिक पढाइ थियो। एसएलसीपछि उनले मानविकी पढ्न थाले। संगीत र पढाइ सँगसँगै लिएर हिँडे। अहिले उनले संगीतमा स्नातक गरिसकेका छन् भने औपचारिक पढाइ स्नातकोत्तरसम्म पुर्‍याएका छन्। 

‘समाजमा भएको मूल्य–मान्यताका कारण पनि मान्छे गीत–संगीतमा लाग्न डराउँछ,’ सजल भन्छन्, ‘मेरो पनि त्यस्तै कारणले १० वर्षजति ग्याप भयो।’ नेपाल टेलिभिजनले बनाएका गीतपछि उनी ‘नोटिस्ड’ भए। २०६६ मा उनले आफ्नो पहिलो एल्बम ‘नमन’ सार्वजनिक गरे। त्यसपछि उनी एकाएक हराए। भन्छन्, ‘गीत–संगीतमा व्यावसायिक भएर लाग्ने सोच थिएन। तर, शहरमा चल्नका लागि अन्य काम गर्नुपर्ने आवश्यकता थियो।’ 

१० वर्षमा उनले कैयौँ एनजीओ÷आईएनजीओमा काम गरे। तर, आफूले खोजेजस्तो सन्तुष्टि नपाएको उनी बताउँछन्। ‘समाजका लागि केही हुन्छ भनेर काम गरिरहेको थिएँ,’ उनी भन्छन्, ‘तर, त्यस्तो थिएन।’ मन काममा लाग्न छाडेपछि उनी गीत–संगीततर्फ मोडिए। भन्छन्, ‘म गीत–संगीतबाट टाढा भएको रहेछु तर गीत–संगीत मबाट टाढा गएको थिएन।’

पहिलो एल्बम निस्किएको लगभग १० वर्षपछि गत वर्ष मात्रै उनले ‘दिव्य सेवाका गीत’ भनेर नयाँ एल्बमको काम गरेका छन्। एल्बममा वृद्धवृद्धाको भावनालाई समेटेर गीत समावेश गरिएको उनी बताउँछन्। सजल आफूलाई शास्त्रीय संगीतको साधक भन्न रुचाउँछन्। ‘म शास्त्रीय संगीतको विद्यार्थी हुँ, साधक हुँ,’ उनी भन्छन्, ‘अझै सिकिरहेको छु।’ उनका गीतमा शास्त्रीय संगीतसँगै आधुनिक शैलीको समेत प्रयोग भएको छ। भन्छन्, ‘शास्त्रीय संगीतमा सिकेका कुरालाई आफ्ना गीतमा प्रयोग गरिरहेको छु। आफ्नो विद्यालाई ‘सेमी–क्लासिकल’ भन्न रुचाउँछु।’

प्रतिक्रिया