ललितपुर–राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन्। अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा अनलाइन खबर डटकमद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन्।
राष्ट्रपति पौडेलले भने, “युवा भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईंहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु । नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्त्वपूर्ण कुरा–प्रश्न गर्ने साहस छ ।”
राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए। उनले भने, “अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ ।”
राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गरे। उनले भने, “विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ ।”
देशका गाउँ, सहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौँ नेपाली युवा चुपचाप काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, “आज यहाँ ४० मुनिका ४० मा छनोट नभएका ती सम्पूर्ण युवाको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले यस्ता पारदर्शी, समावेशी र विविधताको मर्मअनुरूपका छनोट विधिले अवसर नपाएका, मूलप्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेका युवासम्म दृष्टि पु¥याउनेछ नै । यस प्रक्रियामा सहभागी निर्णायक मण्डल तथा सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।”
राष्ट्रपति पौडेलले पछिल्ला वर्षमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवापुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रूपममा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताए। राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र नबनाउने उल्लेख गर्दै उनले भने, “हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईंहरूको पालो छ । एउटै आग्रह–आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौँ ।”
नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको बताउँदै राष्ट्रपति पौडेलले भने, “यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्ने र्छ । असहमति लोकतन्त्रको कमजोरी होइन, जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यही शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्याउँछ भन्ने मेरो बुझाइ छ ।”
राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताए। स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने उल्लेख गर्दै उनले भने, “लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुन्न । राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने म ठान्दछु । यही दर्शनका लागि सङ्घर्ष गर्दागर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको म स्मरण गर्न चाहन्छु ।”
राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सूचना प्रवाहको प्रतिस्पर्धा गर्ने तीव्र होडबाजीले जनतालाई मिथ्या सूचना सम्प्रेषण गरेर दिग्भ्रमित पार्ने चुनौती देखिएको भन्दै अनलाइनखबरजस्ता जिम्मेवार सञ्चारमाध्यमलाई यस्तो चुनौतीको सामना गरेर जनतासम्म सही सूचना पुर्याउने सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिए।
राष्ट्रपति पौडेलले अनलाइनखबरले निरन्तर रूपमा ‘४० मुनिका ४०’ मार्फत विभिन्न भूगोल, समुदाय र क्षेत्रमा काम गरिरहेका युवाको खोजी, अभिलेखीकरण र सम्मान गर्दै आएको छ । यस प्रयासका लागि म अनलाइनखबर परिवारलाई धन्यवाद दिँदै सम्मानित सबै युवालाई बधाई दिए।