‘सेन्ट अफ अ वुमन’मा कर्नेलको भाषण

उज्ज्वल प्रसाई     १८ माघ २०७७, आइतबार
‘सेन्ट अफ अ वुमन’मा कर्नेलको भाषण

समाज व्यवस्थित गर्ने जिम्मा लिएका व्यक्ति एवं संस्थालाई गाँजेको विराट वैचारिक शून्यता, तिनमा देखिएको इमानको निसासलाग्दो खडेरी र निष्ठाच्युत भएर ती सबै उकुच पल्टेका बेला एउटा फिल्मको दृश्य घरीघरी मस्तिष्कको पर्दामा अवतरित भइरहन्छ।

मार्टिन ब्रेस्टले निर्देशन गरेको ‘सेन्ट अफ अ वुमन’को अन्तिमतिरको त्यो दृश्यमा निष्ठा र इमानदारीको अक्करिलो बाटो हिँड्न चाहिने हिम्मतको कुरा गरिएको छ। सिनेमाका मुख्य कलाकार अल प्याचिनोले दिएको छरितो भाषण सम्झँदा अहिलेको नेतृत्व बेइमान मात्रै होइन, काँतर पनि रहेछजस्तो लाग्छ। 

‘सेन्ट अफ अ वुमन’आँखा नदेख्ने भएपछि स्वास्थ्यका कारण अवकाश लिएका सेनाका कर्नेल फ््रयांक स्लेड र उनलाई सहयोग गर्न आइपुगेका विद्यार्थी चार्ली सिम्सको कथा हो। कर्नेल स्लेड बोलक्कड र सन्काहा हुन्छन्। स्लेडलाई सघाउन सहयोगीका रूपमा काम गर्न आइपुगेका विद्यार्थी सिम्स विद्यालयमा भएको एउटा घटनाबाट सताइएका हुन्छन्।

छुल्याहा सहपाठीले गरेकोएउटा ठूलो बदमासीको साक्षी हुन्छन् उनी। बद्मासी गर्ने साथीहरूका कर्तुत विद्यालय प्रशासनका अघिल्तिर खोल्नुपर्ने दबाबमा परेका हुन्छन्। कर्तुत गर्ने धनी बाबुका छोराले उनलाई कर्तुत लुकाइदिएबापत पैसा दिन खोज्छन्। प्रशासनलाई सत्य नबताए त्यो हर्कतबापतउनले नै कारबाही भोग्नुपर्ने अवस्था आइपर्छ। सजाय भोग्न कठिन हुन्छ, किनभने दुःखले पाएको छात्रवृत्ति छोडेर घर फर्किन उनी बाध्य हुन्छन्। तर, न उनी बेचिइन चाहन्छन्, न साथीलाई पोलेर आफू जोगिन चाहन्छन्। 

सिनेमाको अन्त्यमा सो घटनाबारे छलफल गर्न अनुसन्धान समिति र विद्यार्थी सम्मिलित कचहरी बस्छ। आधुनिक अदालतजस्तो देखिने ठाउँमा बसेको कचहरीमा चार्लीको पक्षमा वकालत गर्न उनको स्थानीय अभिभावक बनेर कर्नेल स्लेड आइपुग्छन्।

सिम्सलाई सजाय सुनाउन थालिएको बेला उनले केही मिनेटको भाषण गर्छन्। सेनाको चिढचिढे अन्धा कर्नेलले बोल्ने अत्यन्तै ठाडो र विद्यालयको सभामा असुहाउँदो ठानिने भाषा प्रयोग गरेर सभ्य र शिक्षित जमातलाई ‘इन्टिग्रिटी’को महŒव सम्झाउँछन्। 

कर्नेल बोल्छन्– ‘अहिले त बूढो भएँ, आँखा नदेख्ने भएँ। कुनै समय थियो, मआँखा देख्थेँ। मैले देखेको थिएँ, यस्ता तन्नेरीका चुँडाएर फालिएका पाखुरा र च्यातेर मिल्काइएका तिघ्रा। तर, सग्लो मान्छेभित्र ध्वस्त बनाइएको आत्माजस्तो मन कुँडिने दृश्य अरू केही हुँदैन।

तिमीहरूलाई लाग्छ, यो एउटा सामान्य केटोलाई लज्जित तुल्याएर घर फर्काउँदैछौ र ऊ पुच्छर लुकाएर यहाँबाट भाग्नेछ। तर, तिमीहरूलाई थाहा छ, यो जिउँदो मान्छेको आत्माको हत्या गर्दैछौ तिमीहरू। ... म यस हलमा प्रवेश गर्दा सुन्दैथिएँ, यो विद्यालय भनेको नेतृत्व हुर्काउने कोक्रो हो। तर, कोक्रो अड्याउने पाखुरा नै ठुन्क्याएपछि के हुन्छ ?कोक्रो खस्छ। त्यो नेतृत्व हुर्काउने कोक्रो यहाँ खसेको छ।

चार्लीको मौनता कति सही हो वा गलत, मलाई थाहा छैन। तर, मलाई के थाहा छ भने, आफ्नो भविष्य खरिद्नलाई उसले आफूलाई बिक्री गर्दैन। साथीहो, त्यसैलाई भन्छन् निष्ठा। त्यसैलाई भन्छन् साहस। हो, नेतृत्व निर्माण गर्ने चिज यिनै निष्ठा र साहस हुन्।’

उनी अझै रोकिँदैनन्, ‘जीवनमा मैले रोज्नुपर्ने सही बाटो के हो भन्ने मलाई सधैँ थाहा थियो। कुनै सन्देहबिना मैले त्यो सही बाटो पहिचान गरेको थिएँ। तर, म त्यो बाटोमा कहिल्यै हिँडिनँ। किन थाहा छ ? किनभने, त्यो बाटो हिँड्न असाध्यै अप्ठ्यारो थियो।

अहिले चार्ली जीवनको चौबाटोमा आइपुगेको छ र उसले आफूले हिँड्ने बाटो रोजेको छ। त्यो बाटो सही छ, किनभने त्यो बाटो निष्ठाको हो। उसलेरोजेको अप्ठ्यारो बाटोमा उसले हिँड्न पाओस्।’

वर्तमान दुनियाँ चार्लीजस्ता युवालाई ‘इन्टेग्रिटी’ र साहसको त्यो अक्करिलो बाटोमा हिँड्न नदिन प्रतिबद्ध छ। 

प्रतिक्रिया