सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

राम्रो अनलाइन     २३ फागुन २०७७, आइतबार
सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौँ, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।  

प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गर्नुभएको नेता भट्टराईले बताए । बैठकपछि नेता भट्टराईले भने, “संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गरेका छन् ।”

सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जानकारी भट्टराईले दिए । पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्च्याएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले गम्भीर सम्बोधन गरेको नेता भट्टराईको भनाइ छ । 

सर्वोच्चको फैसलापछि पार्टीको अवस्था साबिकरुपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का रुपमा पुगेको प्रधानमन्त्रीको कथन थियो । बैठकमा प्रतिनिधिसभाको पुनः स्थापनाको फैसला जस्तै आजको फैसलालाई समेत कार्यान्वयन गरेर जाने निर्णय भएको नेता भट्टराईको भनाइ छ । 

प्रतिक्रिया