सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्यो 

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो
राम्रो अनलाइन     ०८ वैशाख २०७८, बुधबार
सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्यो 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दा पेसी चढेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको मुद्दा पेसी चढेको हो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । मुद्दा १० औं नम्बरमा पेसी चढेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन् ।

लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए । तर, त्यसमा फैसला हुनुअघि नै उनी सभामुख निर्वाचित भए ।

सापकोटा सभामुख भइसकेपछि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अभियोग लागेको व्यक्तिलाई दोषी प्रमाणित नभएसम्म कसुरदार नमानिने भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको थियो ।

प्रतिक्रिया