सभा छाडेर काठमाडौँ फर्किए प्रचण्ड / नेपाल 

रासस     १२ फागुन २०७७, बुधबार

चितवन, १२ फागुन : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित चितवनमा हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्किएका छन् । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्किएका हुन् । उहाँहरु आज बिहान १०ः४५ बजे जहाजबाट जानुभएको अधिकारीले जानकारी दिए । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम उहाँहरू छाडेर फर्कनुभएको अधिकारीले बताए ।  

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दै छन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।
 

प्रतिक्रिया