रवि र छविको मुद्दामा बहस सकियो

राम्रो अनलाइन     ०३ पुस २०८२, बिहिबार
रवि र छविको मुद्दामा बहस सकियो

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज भएको बहस सकिएको छ ।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको बहस सकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार बहस सकिएको हो । 

आदेश आउन केही समय लाग्ने उनले बताए । यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ मा परेर स्थगित भएको थियो । त्यसअघि मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया