पोखरा– विदेशी पर्यटकहरू १९ औँ संस्करणको असारे रोपाइँ महोत्सव २०८१ मा हिलो खेल्दै रमाएका छन् । पोखरा २३ को फेवा फाँटमा पोखरा पर्यटन परिषदद्वारा आयोजित महोत्सवमा विदेशी पर्यटकहरू हिलोमा खेलिने विभिन्न खेलकुदमा सहभागी भएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

‘पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ ‘रोपाइँ महोत्सव’ विगतका वर्षदेखि पोखरा क्षेत्रका विभिन्न स्थानहरूमा महोत्सव आयोजना गरिँदै आएको श्रेष्ठले जानकारी दिए । खेतीयोग्य जमिनलाई संरक्षण गरी बाँझो जग्गामा खेतीका प्रोत्साहन गर्न महोत्सवले सहयोग गर्ने उनले बताए।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । फेवातालको सिरान भागमा भएको उक्त महोत्सवमा मुख्यमन्त्री पाण्डेले प्रदेशका साथै नेपालको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए।

प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले फेवाताल संरक्षणमा आफूहरू कटिबद्ध भएको बताए। प्रदेश सांसद प्रकाश बरालले पोखराको फेवातालसहित भ्यु फेवा राउण्ड फेवा परियोजनाले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए। हिलोमा भलिबल, हिले दौड, र रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन गरिएको महोत्सवका संयोजक तारानाथ पहरीले बताए।
महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए । कलाकार समीक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ, बालकाशी गुरुङ लगायतले प्रस्तुती दिएको महासचिव सिग्देलले बताए।



