छोडेर होइन जोडेर कुलतबाट मुक्त भइन्छ
चार वर्षअघि एक जना अधबैँसे श्रीमतीलाई साथमा लिएर मेरो कार्यालयमा आइपुगे। श्रीमती थकित र गलित देखिन्थिन्। उनी तीव्र निराशामा रहेको अनुमान गर्न सकिन्थ्यो। श्रीमान्को हालत पनि उस्तै थियो। अनुहार सुन्निएको देखिन्थ्यो। आँखा राताराता थिए। उनी ठूलै रोगले थलिएर भर्खरै तंग्रिएका जस्ता देखिन्थे।
श्रीमतीले उनीहरू आउनुको कारण बताइन्। श्रीमान् विगत १० वर्षदेखि रक्सीको लतमा फसेका रहेछन्। हामीकहाँ सञ्चालन हुने योग, ध्यान, रेकी र प्रवचनहरूले उनको रक्सीको लत छुटाउन सहयोग पुग्छ कि भन्ने सोचका साथ उनीहरू आएका थिए। अधबैँसे जतिसक्दो छिटो रक्सी छाड्न चाहन्थे। उनले रक्सी मुक्तिका लागि अनेकौँ प्रयत्न गरिसकेका थिए। तर, सफल भएका थिएनन्।
मैले उनलाई ‘रक्सी छाड्छु भनेर संकल्प गर्न छाडिदिनुस्' भनेँ।
त्यो सहारा नै खोसिदिएपछि ऊ छटपटाउनु स्वाभाविक हो। त्यसैले चुरोट छुटाउनुभन्दा पहिला उसमा रहेको न्यास्रोपना, छटपटी र उदासीलाई हटाउन सक्नुपर्छ।
योग र प्राणायाम नियमित गर्ने र नियमित पिउने साथीभाइको सर्कलभन्दा नयाँ सर्कल बनाउन कोसिस गर्ने जस्ता कुरा सुझाएँ। यी सबै काम गर्दागर्दै पनि रक्सी छाड्छु भन्ने सोच नै नबनाउनुस् भन्नेमा मेरो जोड थियो। करिब छ महिनापछि उनी श्रीमतीलाई लिएर मकहाँ आए। उनीमा उत्साह र विश्वास थियो। शरीर पनि स्वस्थ देखिन्थ्यो। श्रीमती पनि खुशी थिइन्। करिब तीन महिनाअगाडिदेखि रक्सीको लतबाट उनी पूर्ण मुक्त भएका रहेछन्। परिवारमा खुशी फर्किएको रहेछ। मैले दिएको टिप्सका कारण आफूले रक्सी छाड्न सकेको उनले बताए।
मैले ती अधबैँसेलाई कुनै विशिष्ट ज्ञान र विधि सिकाएको थिइनँ। जीवनमा ठुलो कुरा जोडियो भने सानो कुरा आफैँ छुटेर जान्छ भन्ने परामर्श दिएको थिएँ। महान् कर्म गर्ने संकल्प गरियो भने सानासाना कुरामा लोभलालच गर्नेतर्फ मन जाँदैन। जीवनमा केही गर्नुपर्छ भन्ने भएपछि उनको रक्सीको लत आफैँ छुट्यो। जबसम्म ‘रक्सी छाड्छु' भन्ने विषयमा मात्र उनी केन्द्रित थिए, उनले रक्सी छाड्न सकेनन्। जब जीवन बदल्छु, स्वस्थ हुन्छु वा नयाँ काम गर्छु भन्ने विषयमा उनी केन्द्रित भए, त्यसपछि रक्सी छाड्नु परेन, आफैँ छुट्यो।
गिरिशको राजीनामा
स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंसलाई मुक्त पुरुषका रूपमा सम्मान गरिन्छ। परमहंसका भाञ्जा गिरिश घोष रक्सीको दुव्र्यसनमा फसेका थिए। एक दिन गिरिशले परमहंसलाई ‘म पनि तपाईं जस्तै बन्न चाहन्छु तर रक्सी छाड्नै सक्दिनँ, रक्सी नछाडीकन अध्यात्ममा लाग्ने कुनै उपाय छैन ?' भनेर सोध्छन्। रामकृष्णले भाञ्जालाई रक्सी नछाडे पनि जीवनमा एउटा कुरा जोड भन्छन्। रामकृष्णले गिरिशलाई ‘रक्सी पिउन बस्दा हरेक पटक आफूलाई र परमात्मालाई स्मरण गर्ने गर, यति ग¥यौ भने तिमी म जस्तै हुन्छौ' भन्छन्। गिरिशले त्यसै गर्छन्।
कुनै पनि नकारात्मक कुराबाट कसैलाई मुक्त पार्नु छ भने त्योभन्दा पहिला उसका लागि सकारात्मक स्रोतको व्यवस्थापन गर्नुपर्छ। नकारात्मकको विकल्पमा सकारात्मकको जोहो नगर्ने हो भने प्रयत्नले परिणाम ल्याउँदैन।
केही समयपछि गिरिशलाई रक्सी पिउन असजिलो हुन थाल्छ। बिस्तारै उनले रक्सी त छाड्छन्। तर, उनको दुःखको निवारण हुँदैन। उनी मामालाई रक्सी छाडेपछि आफ्नो दुःख झनै बढेको बताउँछन्। रामकृष्णले गिरिशलाई आफ्ना दुःखहरू लेख भनेर कापी र कलम दिन्छन्। उनले बुँदागत रूपमा आफ्ना दुःख लेखेर रामकृष्णलाई दिन्छन्। अनि, रामकृष्णले ‘यी सम्पूर्ण दुःखलाई तमसुक पत्र बनाएर मेरो नाउँमा राजीनामा गरिदेऊ' भन्छन्। गिरिशले त्यसै गर्छन्।
राजीनामा पत्रलाई गिरिशले नपत्याउनु स्वाभाविकै थियो। तर, जतिखेर उनलाई दुःखको याद हुन्थ्यो, उनी उक्त राजीनामा पत्र सम्झन्थे। ‘ओहो ! मैले त मामालाई दुःख राजीनामा गरिसकेँ, अब मसँग दुःखी हुने अधिकार नै छैन' भन्ने भाव उनमा जाग्न थाल्यो। गिरिशकी एक जना छोरी थिइन्। उनको असामयिक मृत्यु हुन्छ। छोरीको मृत्युका कारण गिरिश भक्कानो छोडेर रुन थाल्छन्। रुँदारुँदै उनलाई दुःख राजीनामा गरेको याद आउँछ। उनी रुन सक्दैनन् र मौन बस्छन्। त्यसपछि गिरिशको जिन्दगीमा कहिल्यै दुःख आएन।
मस्तिष्कको भाषा
हिजोआज रक्सी, चुरोट वा दुव्र्यसनबाट मुक्तिका लागि उपचार केन्द्र, औषधि र विधिहरू प्रचलनमा छन्। ठूलो जनसंख्या आफ्नो आदत बदल्न चाहन्छ। आफ्नो बानी बदल्न उसले कोसिस पनि गर्छ। तर, सारै थोरैले मात्र आफ्नो लतबाट मुक्ति पाएका छन्। अल्कोहलले फाइदा गर्दैन भन्ने सबैलाई थाहा छ। चुरोटकै बट्टामा क्यान्सर जस्तो भयानक रोग लाग्छ भनेर लेखिएको छ। तैपनि मानिस कुलतबाट माथि आउन सकेको छैन। किन ?
हाम्रो मस्तिष्कको सिस्टम छोड्नेभन्दा पनि जोड्नेसँग सम्बन्धित छ। तर, हामीहरू रक्सी, चुरोट जस्ता लतहरूलाई छोड्ने कोसिस गर्छाैं।
कोसिस गर्दागर्दै पनि मानिस कुलतबाट किन मुक्त हुँदैन भन्ने बुझ्नका लागि हामीले हाम्रो मस्तिष्कको संरचनालाई बुझ्नुपर्ने हुन्छ। हाम्रो मस्तिष्कको सिस्टम छोड्नेभन्दा पनि जोड्नेसँग सम्बन्धित छ। तर, हामीहरू रक्सी, चुरोट जस्ता लतहरूलाई छोड्ने कोसिस गर्छाैं। मस्तिष्कलाई छोड्ने भाषा गाह्रो र जोड्ने भाषा सजिलो हुन्छ। जसको जस्तो भाषा र सिस्टम छ, सोही अनुरूपको व्यवस्थापन गरिएन भने उल्टो परिणाम आउनु स्वाभाविकै हो।
यसलाई नेपाली समाजमा प्रचलित एक पुरानो कथामार्फत स्पष्ट पार्न सकिन्छ। बाटोमा हिँडिरहेका एक जना पुरोहित इनारमा खसेछन्। उनको गुहार सुनेर एक जना गाउँले इनारमा पुगेछन्। पुरोहितलाई इनारमा देखेर गाउँलेले हात लम्काउँदै ‘पण्डितजी हात दिनुस् त !' भनेछन्। तर, पुरोहितले हात दिएनन्। उनले जीवनमा कहिल्यै पनि दिन जानेका थिएनन्।
लिन मात्र जानेका थिए। उनले दिने भाषालाई बुझ्नै सकेनन्। जति गर्दा पनि पण्डितले हात नदिएपछि गाउँलेले आफ्नो हात पुनः लम्काउँदै भनेछन्, ‘पण्डितजी, मेरो हात लिनुस् त।' पण्डितले लिने वा पाउने भाषा बुझे र गाउँलेको हात समाते। त्यस्तै, चुरोट वा रक्सी छाड्छु भन्ने जोडले सामान्यतः सहजता हुँदैन।
झनै गाह्रो हुन्छ। बरु रक्सी वा चुरोट छाड्नुभन्दा पनि रक्सी र चुरोटले भन्दा बढी आनन्द दिने विषय जीवनमा जोडियो भने रक्सी र चुरोट स्वतः छुट्न पुग्छ। मानव मस्तिष्क लिनका लागि बनेको छ, दिनका लागि बनेको छैन। समाउन वा लिनका लागि उद्यत छ, छाड्नका लागि छैन।
लतः बाँच्ने बहाना
जीवनका पीडालाई व्यवस्थापन गर्नका लागि मानिसले रक्सी पिउँछ। रक्सीले दिने आनन्दमार्फत उसले छोटो समय भए पनि पीडाबाट राहत पाएको हुन्छ। जब रक्सी छाड्ने कुरा गरिन्छ, उसलाई झनै पीडाबोध हुन पुग्छ। वर्तमानमा ऊ पीडाबाट पलपल मरिरहेको हुन्छ। भोलि रक्सीले वर्षौंवर्षपछि मार्ने पीडाभन्दा वर्तमानको पीडा उसका लागि महत्वपूर्ण हुन्छ।
कम्तीमा पनि बिहान उठ्नेबित्तिकै स्नान, योग–ध्यान र प्राणायाम गर्ने, पुस्तक पढ्ने वा संगीत सुन्ने अनिवार्य जीवनचर्याको संस्कार हरेक घरले निर्माण गर्ने हो भने सन्ततिहरू अम्मल वा लतमा फस्दैनन्।
छोटो बेचैनी, आलस्य र उदासीबाट राहत पाउनका लागि मानिसले चुरोट पिउँछ। ‘लाइफ स्टाइल'मा परिवर्तन नभईकन वा ऊसँग रहेको छटपटी र उदासी नगईकन उसलाई चुरोट मात्र छुटाउन खोजेर चुरोट छुट्दैन। उदासी जहाँको तहीँ छ, त्यही उदासी न्यूनीकरणका लागि उसले चुरोटको सहारा लिएको हो। त्यो सहारा नै खोसिदिएपछि ऊ छटपटाउनु स्वाभाविक हो। त्यसैले चुरोट छुटाउनुभन्दा पहिला उसमा रहेको न्यास्रोपना, छटपटी र उदासीलाई हटाउन सक्नुपर्छ।
लत (एडिक्सन) बाँच्ने बहाना हो। मानिस लतमा पर्नु भनेको उसले बाँच्ने बहानाको व्यवस्थापन गर्नु हो। यो विषयलाई हामी कहिल्यै महत्व दिँदैनौँ। मात्र, उसको लत छुटाउन कोसिस गर्छौं कुनै पनि नकारात्मक कुराबाट कसैलाई मुक्त पार्नु छ भने त्योभन्दा पहिला उसका लागि सकारात्मक स्रोतको व्यवस्थापन गर्नुपर्छ।
नकारात्मकको विकल्पमा सकारात्मकको जोहो नगर्ने हो भने प्रयत्नले परिणाम ल्याउँदैन। रक्सीका अम्मलीहरूले योग र ध्यानमा जोडिएपछि एकाएक रक्सी छाडेका मैले देखेको छु। साधनामा लाग्नेबित्तिकै उसले रक्सीले दिनेभन्दा ठूलो आनन्द महसुस गर्छ। ठूलो पाइसकेपछि सानोमा मन जाँदैन।
मानिस लतमा पर्नु भनेको उसले बाँच्ने बहानाको व्यवस्थापन गर्नु हो। यो विषयलाई हामी कहिल्यै महत्व दिँदैनौँ।
शोधकर्ताहरूका अनुसार जो मानिस सानै उमेरबाट खेलकुद वा व्यायामसँग जोडिन्छ, ऊ कुलतमा फस्दैन। यसको कारण के हो भने उसले खेलकुद र व्यायामबाट शारीरिक र मानसिक सन्तुष्टि प्राप्त गरिरहेको हुन्छ। सन्तुष्ट मनलाई अम्मलको आवश्यकता पर्दैन। आनन्द र सिर्जनशीलता कुनै पनि कुराको लतबाट प्राप्त हुन्छ।
मानिस सिर्जनशीलतामा जोडिएपछि लतमा फस्दैन। हाम्रो शिक्षा प्रणालिले सिर्जनात्मक पक्षलाई पूरै बेवास्ता गरेको छ। जसको कारण स्कुल पढ्दै गरेका बालबालिकाहरू आनन्दको खोज गर्दै चुरोट र रक्सीलगायत लतमा फस्न पुग्छन्।
अन्त्यमा,
लत व्यक्तिको निजात्मक समस्या मात्र होइन। सभ्यताले निम्त्याएको विकार पनि हो। व्यक्तिलाई कुनै पनि लत छाड् भनेर मात्र हुँदैन, लत मुक्तिका लागि सहज र सकारात्मक आधार पनि निर्माण गरिदिनुपर्छ। कम्तीमा पनि बिहान उठ्नेबित्तिकै स्नान, योग–ध्यान र प्राणायाम गर्ने, पुस्तक पढ्ने वा संगीत सुन्ने अनिवार्य जीवनचर्याको संस्कार हरेक घरले निर्माण गर्ने हो भने सन्ततिहरू अम्मल वा लतमा फस्दैनन्।
आफ्ना सन्तान कुलतमा फस्लान् कि भनेर सचेत हुने आमाबाउले उनीहरूलाई कुलतमा नफस भनेर अर्ती दिने वा अनुशासित बनाउने कार्य मात्र गर्छन्। तर, हरेक आमाबाउले आफ्ना सन्तान कसरी खुशी हुन्छन् ? उनीहरूलाई कसरी आनन्दित बनाउन सकिन्छ भन्ने विषयमा ख्याल पुर्याउने हो भने उनीहरू कुलतमा फस्दैनन्। यसका लागि आदेश र उपदेश होइन, आमाबाउ नै उदाहरण बन्नसक्नुपर्छ। अर्थात्, जेजस्ता बानीबेहोरा छोराछोरीमा आओस् भन्ने चाहना गरिन्छ, ती कुरा आफैँबाट सुरु गर्नुपर्छ।