नम्रता श्रेष्ठ अभिनीत लघु फिल्म ‘वरदान’ बिहीबार रिलिज भएको छ । दयाहाङ राई र प्रवीण खतिवडाको समेत अभियन गरेको यो छोटो फिल्मले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयलाई प्रस्तुत गरेको छ । २४ मिनेट अवधिको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लेखन पनि उनकै हो ।
‘वरदान’ ‘जायरा’पछि नम्रता पर्दामा देखिएको सिर्जना हो । अभिनयमा उनी खारिएसको महसुस हुन्छ । सन्देश दिने उद्देश्यले बनाएको भए पनि फिल्ममा भाषण छैन । नम्रतासँगै पर्दामा देखिने दयाहाङ राई र प्रवीण बुढाथोकी थिएटरमा खारिएका कलाकार हुन् । त्यो अनुभव फिल्ममा पनि देखिन्छ ।
निर्देशक दीपेन्द्र लामाले कोभिड–१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू वरदानुको कथा लेख्न प्रेरित भएको बताए । आफूले बनाएको फिल्मले थोरै मानिसलाई पनि भित्रैबाट परिवर्तन गर्यो भने आफूलाई खुसी लाग्ने उनले बताए ।
शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।