राष्ट्रपति ८ः३० मा ५४ सदस्यीय टोलीसहित बंगलादेश जाँदै

राम्रो अनलाइन     ०९ चैत २०७७, सोमबार
राष्ट्रपति ८ः३० मा ५४ सदस्यीय टोलीसहित बंगलादेश जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) बिहान ८ः३० बजे ५४ सदस्यीय टोलीको नेतृत्व गरेर बंगलादेश भ्रमणमा जाँदैछिन् । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति बंगलादेश जान लागेकी हुन् ।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बंगलादेश जान लागेकी हुन् । 

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका जाने कार्यक्रम छ ।

भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छिन । उनलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् । 

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा। हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी हुनेछन् । 

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारी समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा २ देशबीच पर्यटन प्रबर्द्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एण्ड फाइटो स्यानिटरी मेजर्ससहित ३ वटा बेग्लाबेग्लै समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

भ्रमणका क्रममा उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुने र प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
 

प्रतिक्रिया