राजधानीमा एमालेको प्रदर्शन : लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

राम्रो अनलाइन     ०६ मंसिर २०८२, शनिबार
राजधानीमा एमालेको प्रदर्शन : लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज राजधानीमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । 

संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए। 

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको थियो। जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुहुनेछ ।

यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्‍याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो । 

लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन्।

सो पार्टीद्वारा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि  गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गरे। उनले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गरे।

पार्टीका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि नेकपा एमाले  निरन्तर क्रियाशील रहने बताए। 

त्यस अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गरेका थिए।

प्रतिक्रिया