पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

राम्रो अनलाइन     १८ जेठ २०८२, आइतबार
पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

गण्डकी– पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालन गराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले आज विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनका क्रममा भएको अवरोधहरूप्रति ध्यानाकर्षण गराउँदै बन्द हड्तालमा पनि पर्यटक सवारीसाधनहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति र सबै पक्षसँग आग्रह गरेका हुन् । 

यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढ्ने भन्दै विज्ञप्तिमा पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधारमध्ये एक भएको र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरुको साझा दायित्व भएको भनिएको छ ।

बन्द नै समाधान नभएको भन्दै परिषदले सबै सरोकारवाला निकायहरू प्रति गम्भिर ध्यानाकर्षण सहित शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया