काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी नहुने भएका छन् । ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवुकमार नेपाललाई भने बैठकबारे खबरै गरेका छैनन् ।
प्रचण्डले बालुवाटार होइन, सिंहदरबार वा अन्य कुनै स्थानमा बैठक बोलाउन भनेका थिए । तर, ओलीले बालुवाटारमा नै बैठक बोलाएपछि सहभागी नहुने निर्णय लिएको सचिवालयले बताएको छ ।
ओलीले प्रचण्डलाई बोलाउदा पनि सर्वदलीय बैठक भनेर नबोलाएको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालय भन्छ, ‘उहाँलाई प्रधानमन्त्रीले उहाँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको समसामयिक परिस्थितिबोर छलफल गरौँ भनेर टेलिफोन गर्नु भएको थियो । पछि सर्वदलीय बैठक भन्ने मिडियामा आयो । हामीलाई सर्वदलीय बैठक भनिएको छैन ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा भने आफूहरूलाई सर्वदलीय बैठक भनेर बोलाइएको र आफूहरु सहभागी हुने बताए । ‘हामीलाई सर्वदलीय बैठक भनेर बोलाइएको छ । हामी जान्छौ । अरुलाई सर्वदलीय बैठक नभनिएको कुरा आयो, के हो बुझ्नै सकिएन’ देउवाले भने ।
यता जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने सर्वदलीय बैठकबारे पार्टीमा कुनै जानकारी नभएको बताएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाको अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई मात्रै सर्वदलीय बैठकमा बोलाएका छन् । अध्यक्ष उपेन्द्र यादवलाई पनि खवर गरेका छैनन् ।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रिय समस्या कोभिडलगायत बजेट बनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
बैठकमा प्रचण्ड, अतिरिक्त प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जनता समाजवादी लगायतलाई बोलाइए पनि माधवकुमार नेपाल र झलनाथ खनाललाई भने बोलाइएको छैन ।