प्रचण्ड–माधव समूहद्वारा बहिष्कार, प्रमुख प्रतिपक्ष दल कांग्रेसद्वारा अवरोध 

राम्रो अनलाइन     २३ फागुन २०७७, आइतबार
प्रचण्ड–माधव समूहद्वारा बहिष्कार, प्रमुख प्रतिपक्ष दल कांग्रेसद्वारा अवरोध 

नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै कांग्रेस सांसद्ले उठेर अवरोध गरेका हुन् । 

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा आपत्ति जनाएको हो । संविधानको भावना विपरित अध्यादेशबाट सरकारले शासन चलाएको भन्दै कांग्रेस सांसद पुष्पा भुसालले बैठकमा आपत्ति जनाएकी हुन् । 

असंवैधानिक ढंगले सरकार अगाडि बढेको भन्दै भुसालले आपत्ति जनाएकी हुन् । संवैधानिक अंगमा आफू अनुकुल नियुक्ति गर्नका लागि संवैधानिक परिषद् ऐनमा अध्यादेशमार्फत् संशोधन गर्न खोजिएको भन्दै विरोध जनाएकी हुन् । 

प्रतिक्रिया