अहिलेका चर्चित लोकगायक प्रकाश सपुतसँग सहकार्य गरेको ‘लुरुरु हुरुरु’ गीतले गायिका सुनीता अधिकारीलाई धेरैमाझ चिनायो । तर, संगीतमा आफ्ना संघर्षका दिन सकिएको महसुस उनले गरेकी छैनन् । कला र गलामार्फत आफू अझै माथि पुग्नेमा उनी विश्वस्त छिन् । ‘यतिमै चित्त बुझाउँदा त्यो तहको उचाइ हासिल गर्ने बाटो रोकिन सक्छ,’ उनी भन्छिन् ।
केही वर्षदेखि तीजका गीत निरन्तर बजारमा ल्याइरहेकी छिन् । ‘पानको मिस्सी, हुकुमको चौका’, ‘क्यारम मायालाई’ पछि यसपल्ट ‘चुरा’ तीजका अवसरमा सार्वजनिक गरेकी छिन् । विदेश बस्ने दिदीबहिनीले नेपालमा रहनेलाई दर्शाउने धाकलाई थिम बनाएर गाइएको ‘चुरा’ बाट अधिकारीलाई आशा छ । सुन्नेले रुचाएका पनि छन् । चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ का निर्देशक गणेश पाण्डेले लेखेको गीतको संगीत शिव हमालले दिएका छन् ।
नेपाली महिला तीजमा नाच्नका लागि घन्काउनेमध्ये एकमा पर्ने उनको आशा छ । आफैँले यो गीतमा नृत्य गरेकी छिन् । आफ्ना गीतमा सुरुदेखि नै आफैँले नृत्य गर्ने गरेकी छिन् । २०७२ सालदेखि गीत रेकर्ड गर्न थालेकी हुन् । ‘श्रीमतीको टोकसो’ उनको पहिलो गीत थियो । त्यो गीतबाट उनलाई एक किसिमको अपेक्षा थियो तर त्यसले उनको करिअरलाई कहीँ पु¥याएन । तर, उनले त्यसपछि गीत बजारमा ल्याउने क्रमलाई भने निरन्तरता दिइन् । गायन करिअर गीत रेकर्ड गरेर होइन, दोहोरी साँझबाट २०६७ सालमै सुरु गरिसकेकी थिइन् ।
सानोदेखि नै उनलाई गायनमा रुचि थियो । स्कुलका कार्यक्रम मात्रै होइन, गाउँमा हुने विभिन्न पर्वका अवसरमा उनी गाउँथिन् । उनका दाइलाई पनि संगीतमा रुचि भएका कारण उनलाई गायिका बनाउन काठमाडौँ ल्याए । काठमाडौँ आएपछि क्याम्पस पढ्नुका साथै केही महिना सुरतालको ज्ञान लिइन् । सुरतालको ज्ञान लिएपछि संगीत क्षेत्रमा आफूलाई अघि बढाउने आत्मविश्वास पलायो ।
लोकदोहोरी कलाकारका लागि संगीतमा संघर्ष गर्न सहज बनाउने दोहोरीसाँझ थिए । काठमाडौँमा ती प्रशस्त खुल्न थालेका थिए । उनले पनि त्यतैतिर अवसर खोज्न थालिन् । तर, दोहोरीसाँझमा गाउन मात्रै होइन, नाच्न पनि जान्नुपर्ने बताइयो । उनले काम खोज्ने गएको पहिलो ठाउँबाट नाच्न नजानेको बताएका कारण अस्वीकृत भइन् । अर्को दोहोरीमा भने नाच्न सिकिरहेको भन्दै जागिर पाइन् ।
दोहोरीमा गाउन थालेपछि उनले सत्यवती कला केन्द्रमा नृत्य सिक्न थालिन् । त्यहाँ नृत्य सिकेर झण्डै पाँच वर्ष उनले गायिकाका साथै डान्सरका रूपमा पनि काम गरिन् । सोही कला केन्द्रमा आबद्ध भएर देशविदेशका स्टेजमा नाचेको अनुभव उनीसँग छ । यसले काठमाडौँमा बसेर संगीत क्षेत्रमा संघर्ष गर्न सहज बनाएको उनी बताउँछिन् ।
त्यहीँ सिकेको नृत्य अहिले पनि उनका लागि काम लागिरहेको छ । किनभने, आफ्ना गीतमा आफैँ नाच्ने गरेकी छिन् । दोहोरीसाँझमा २०६७ सालदेखि सुरु भएको गायनयात्रा अझै रोकिएको छैन । कलाकारितामा हिट हुन प्रतिभा मात्रै सबैथोक नभएको उनले झण्डै एक दशकको यो संघर्षमा महसुस गरेकी छिन् । त्यसैका निम्ति आफूलाई पूर्ण समाहित गर्न सक्ने स्वतन्त्रता जरुरी ठान्छिन् । त्यो सबैले प्राप्त गर्न नसक्ने उनको अनुभव छ । यसै गरी, यो क्षेत्रमा अगाडि बढाउन यही क्षेत्रमा आफ्ना मान्छे हुनु र नहुनुले पनि अर्थ राख्ने उनी बताउँछिन् ।
आफूसँग भएको प्रतिभाकै बलमा अघि बढ्न केही बढी समय लाग्ने उनको बुझाइ छ । तर, प्रतिभाको पालो एक दिन आउनेमा उनी विश्वस्त छिन् । त्यसैले निरन्तर यो क्षेत्रमा सक्रिय छिन् । पछिल्ला वर्षहरूमा उनले सार्वजनिक गरिरहेका गीतले केही चर्चा समेत दिलाइरहेका छन् । यसले गर्दा पनि उनको विश्वास मर्न पाएको छैन । स्वरको जादु चलाउन संघर्षरत सुनीता यसबाट भागिजानेमा आफू नपर्ने बताउँछिन् ।