पाकिस्तानमा आईईडी विस्फोट, दुईको मृत्यु र १४ जना घाइते

राम्रो अनलाइन     ०५ फागुन २०८२, मङ्गलबार
पाकिस्तानमा आईईडी विस्फोट, दुईको मृत्यु र १४ जना घाइते

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लाको मिर्यान प्रहरी चौकीनजिकै सोमबार विस्फोटमा परी एक बालकसहित कम्तीमा दुईजनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

‘डन’ समाचार संस्थाका अनुसार, प्रहरी चौकीअगाडि रहेका पसलहरूनजिकै राखिएको एउटा ‘इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस’ विस्फोट भएको थियो । एउटा मोटरसाइकलमा जडान गरिएको ‘टाइम बम’ विस्फोट भएको त्यहाँको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी आसपासका सर्वसाधारण प्रभावित भएका छन् । प्रहरी कर्मचारी भने सकुशल छन् । उद्धार टोलीले घाइते र शव अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । बन्नु क्षेत्रका डेपुटी इन्स्पेक्टर जनरल सज्जाद खानले उक्त इलाकालाई घेराबन्दी गरी घटनामा संलग्नको खोजतलास जारी राखिएको जनाएका छन् ।

घटनास्थलमा बम डिस्पोजल स्क्वाड क्विक रेस्पोन्स फोर्स र सशस्त्र कर्मचारीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरिरहेको छ । अनुसन्धान जारी छ । थप सम्भावित खतरालाई रोक्न बीडीएस टोलीले उक्त क्षेत्रको जाँच गरिरहेको छ ।

खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विस्फोटको कडा निन्दासहित मृतकप्रति दुःख व्यक्त गरेका छन् । विपक्षी दलका नेता इबादुल्लाह खानले पनि आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया