ओलीविरूद्ध भोलि अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस माओवादीको तयारी

संस्थागत निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक जारी
राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
ओलीविरूद्ध भोलि अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस माओवादीको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रतिपक्षी दलहरूले गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका हुन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्। ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा निर्णय गर्ने कि ओलीलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन अहिले जनता समाजवादी पार्टी(जसपा)को बैठक बसिरहेको छ ।

जसपामा ओलीलाई समर्थन गर्ने कि नयाँ गठबन्धन बनाउने भन्ने विषयमा मतैक्यता छैन ।  

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेताले बताए।

पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् । वैशाख ५ गते नै कांग्रेस र माओवादी केन्द्रबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति गर्ने तयारी थियो। तर, जसपाले नमान्दा रोकिएको थियो । अब भने जसपा मान्ने अवस्थामा पुगेको ती नेताले बताए ।

माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन् ।  कांग्रेसका नेताहरूको पनि हस्ताक्षर संकलन भइरहेको कांग्रेस स्रोतले बतायो । 

प्रतिक्रिया