काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको संसदीय दल र केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बहिस्कार गर्ने भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक पनि त्यही नै दिउँसो १ बजेपछि बोलाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख तथा खनाल–नेपाल समूहका नेता योगेश भट्टराईले आफूहरू ओलीले बालुुवाटारमा बोलाएको संसदीय दल र केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने जानकारी दिए ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि अध्यक्ष ओलीले सरकार र पार्टीका विषयमा छलफल गर्ने बैठक बोलाएका हुन् ।
खनाल–नेपाल समूहले यसअघि बालुवाटारमै बेलाएको संसदीय दल र स्थायी समिति बैठक बहिस्कार गरेको थियो । शुक्रबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
यस्तै कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन् । शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले केपी ओलीविरूद्ध पार्टीमै रहेर आन्दोलन गर्ने भन्दै बैठकमा सहभागी हुने बताएका थिए ।