काठमाडौं–क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने, क्यान्सरलाई जितेका व्यक्तिहरूको साहस तथा संघर्षलाई सम्मान गर्ने तथा समाजमा सामूहिक सहयोग र ऐक्यवद्धताको भावना विकास गर्ने उद्देश्यले ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना हुने भएको छ ।
एन्ट फाउन्डेसनको आयोजनामा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा हुन लागेको यस कार्यक्रमको यो छैटौँ संस्करण हो । ‘लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस’ अर्थात् क्यान्सर सचेतनाका लागि सँगै हिँडौँ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रमको मुख्य समारोह आगामी नोभेम्बर २८ (मंसिर १२ गते) शनिवार काठमाडौंको नन्दिकेश्वर बगैँचा (नारायण चौर) मा हुनेछ ।
आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था एन्ट फाउन्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले क्यान्सर सचेतना अभियानमा सबै क्षेत्र र समुदायको सहभागिताका लागि आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नोभेम्बर २८ को विशेष कार्यक्रम दिउँसो २ बजेदेखि औपचारिक रूपमा प्रारम्भ हुनेछ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई कार्यक्रमको उद्घाटनका लागि आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
सन् २०२१ मा स्थापना भएको एन्ट फाउन्डेसन स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक सहभागितामार्फत सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने उद्देश्यले काम गर्दै आएको गैरनाफामूलक संस्था हो । यसअघि पाँच संस्करण सम्पन्न गरिसकेको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’ सानो जनचेतनामूलक अभियानबाट विस्तार हुँदै सयौँ मोडल, कलाकार, सार्वजनिक व्यक्तित्व, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई जोड्ने सामाजिक अभियानका रूपमा विकसित भएको आयोजकले जनाएको छ ।
साइकल र्यालीदेखि दौडसम्मका सचेतनामूलक गतिविधि
यस वर्षको अभियानअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । क्यान्सर सचेतनाको सन्देशलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यले साइकल र्याली, मोटरसाइकल र्याली तथा दौड कार्यक्रम आयोजना गरिएको छ ।
‘पेडल फर प्रिभेन्सन’ नारासहित मंसिर ५ गते शनिवार आयोजित साइकल र्यालीमा ४५० भन्दा बढी साइकल यात्री सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले झण्डा देखाएर सुरुवात गरेको उक्त र्याली काठमाडौंहुँदै पाटन दरबार स्क्वायरसम्म पुगेको थियो । र्यालीमार्फत क्यान्सरबाट बच्न अपनाउनुपर्ने सावधानी र नियमित स्वास्थ्य सचेतनाको सन्देश प्रवाह गरिएको थियो ।
त्यस्तै, ‘एक्सेलेरेट फर क्यान्सर अवेयरनेस’ अभियानअन्तर्गत आयोजित मोटरसाइकल र्यालीमा ७० भन्दा बढी बाइकर सहभागी भएका थिए । उक्त र्याली भक्तपुर र कीर्तिपुर क्षेत्रलाई समेटेर सञ्चालन गरिएको थियो । सामूहिक सहभागितामार्फत क्यान्सर सचेतनाको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको हो ।
यसैगरी, नोभेम्बर २३ (मंसिर ८ गते) ‘रन फर रेजिलियन्स’ नामक सचेतनामूलक दौड आयोजना हुँदैछ । आयोजकका अनुसार उक्त दौडमा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । नन्दिकेश्वर बगैँचाबाट प्रारम्भ हुने दौड नक्सालबाट वसन्तपुर दरबार स्क्वायरतर्फ पुगेर पुनः फर्किने छ । यस दौडलाई क्यान्सरबाट प्रभावित व्यक्ति तथा रोगलाई जितेका व्यक्तिहरूप्रति ऐक्यवद्धता प्रकट गर्ने माध्यमका रूपमा लिइएको छ ।
मुख्य समारोहमा सामूहिक पदयात्रादेखि फेसन रनवे
नोभेम्बर २८ मा हुने मुख्य कार्यक्रममा विभिन्न आकर्षण समावेश गरिने आयोजकले जनाएको छ । कार्यक्रममा क्यान्सर सचेतनालाई केन्द्रमा राखेर सामूहिक पदयात्रा, छलफल, फेसन रनवे, सांगीतिक प्रस्तुति तथा स्थानीय उत्पादन र व्यवसायका स्टल रहने छन् ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ‘ग्राण्ड सोलिडारिटी वाक’ अर्थात् बृहत् ऐक्यवद्धता पदयात्रा आयोजना गरिनेछ । यसमा क्यान्सरलाई जितेका व्यक्तिहरू, चिकित्सक, सेलिब्रेटी, सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारण एकैसाथ सहभागी हुनेछन् । सहभागीले एक हजार रुपैयाँ योगदान गरेर क्यान्सर प्रभावित तथा रोगलाई जितेका व्यक्तिहरूसँगै पदयात्रामा सहभागी हुन सक्नेछन् । यसका लागि ‘खल्ती बाइ आईएमई’ एपमार्फत दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
त्यस्तै, क्यान्सर सचेतना तथा सामूहिक जिम्मेवारीका विषयमा अर्थपूर्ण संवाद गर्न प्यानल छलफल आयोजना हुनेछ । छलफलमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्ना अनुभव, विचार तथा दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा ‘थिमेटिक फेसन रनवे’ पनि प्रस्तुत गरिनेछ । फेसनलाई मनोरञ्जन र सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक सचेतना, वकालत र ऐक्यबद्धताको माध्यमका रूपमा प्रस्तुत गर्ने उद्देश्यले विशेष फेसन शो आयोजना गर्न लागिएको हो ।
यसका अतिरिक्त आशा, साहस र सामुदायिक एकताको सन्देश दिने लाइभ सांगीतिक प्रस्तुति रहनेछ । स्थानीय व्यवसाय, ब्रान्ड तथा उद्यमीलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्न खाना, खुद्रा सामग्री तथा सहभागितामूलक स्टलहरू पनि राखिनेछन् ।
सबैका लागि निःशुल्क प्रवेश
आयोजकका अनुसार मुख्य कार्यक्रम सबैका लागि खुला हुनेछ भने प्रवेश निःशुल्क रहने छ । व्यक्तिगत रूपमा सहभागी हुन चाहने व्यक्ति, परिवार, शैक्षिक तथा सामाजिक संस्था, कर्पोरेट समूह, युवा समूह र विभिन्न संगठनलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।
एन्ट फाउन्डेसनले क्यान्सर सचेतना कुनै सीमित व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको सन्देश दिन खोजेको जनाएको छ । क्यान्सर प्रभावित व्यक्ति र परिवारलाई साथ दिनुका साथै रोगबारे खुला छलफल, समयमै पहिचान र सामूहिक सहयोगको वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।
‘वाक फर होप, स्ट्यान्ड फर करेज, मेक अ डिफरेन्स’ अर्थात् आशाका लागि हिँडौँ, साहसका लागि उभिऔँ र परिवर्तन ल्याऔँ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सहभागितामार्फत क्यान्सरविरुद्धको सचेतना अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
विभिन्न संघसंस्थाको सहकार्य
कार्यक्रम एन्ट फाउन्डेसन र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । पोखरा पानोरमा रिसोर्ट एन्ड स्पा पावर्ड बाई पार्टनरका रूपमा रहेको कार्यक्रममा बिग बेल इन्टरटेनमेन्ट इभेन्ट पार्टनर तथा फेसन नेटवर्क नेपाल र आइडियाजवर्क रणनीतिक साझेदारका रूपमा रहेका छन् ।
त्यस्तै, क्यान्सर पेसन्ट नेपाल, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल, काठमाडौं महानगरपालिका वडा नम्बर २६ र वडा नम्बर १ तथा एनआरएनए सहयोगी साझेदारका रूपमा जोडिएका छन् ।
कार्यक्रममा ‘वाउ’ मिडिया पार्टनर, पराडाइम प्रोडक्सन पार्टनर र खल्ती बाइ आईएमई डिजिटल पेमेन्ट पार्टनरका रूपमा रहेका छन् । त्यस्तै, बनेश्वर हिल्स भेन्यु पार्टनर रहेको आयोजकले जनाएको छ ।
यस अभियानलाई होमा, हिटी, सालिको, मुक्तिनाथ विकास बैंक, सीएमसी क्यान्सर इन्स्टिच्युट, लिड एक्स नेपाल, आईईसी कलेज अफ आर्ट्स एन्ड फेसन, क्लब १०एक्स, क्लब एक्सओ, डी रोयल मिलानो युनिसेक्स सलोन, एनसीएनपी, नमुना कलेज अफ फेसन टेक्नोलोजी, अमृता क्राफ्ट, आईआईएफटी, लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, लियो क्लब अफ काठमाडौं ब्लडहुड, द हिडन ट्रेजर, लायन्स क्लब अफ काठमाडौं साइकल सिटी, साइकल टुर क्याम्पेन, एफएफ ग्रुप, वुमन साइकलिङ नेपाल, बाइकर्स क्याफे, हेल्मेट्स नेपाल, नया बजार क्लब कीर्तिपुर, टेम्पल रन, लुगा घर, क्रिएटर्स हेडक्वार्टर नेपाल, अलिमेन्टोस, दारी ग्याङ, काष्ठमण्डप स्काउट क्रु तथा तारकेश्वर स्काउट क्रुलगायत संस्थाले सहयोग गरेका छन् ।
एन्ट फाउन्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले क्यान्सर सचेतना अभियानमा सबै क्षेत्र र समुदायको सहभागिताका लागि आग्रह गरेका छन् ।