काठमाडौं । सत्तारुढ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहले सोधेको स्पष्टीकरणको जवाफ वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ नेताहरूले नदिने भएका छन् ।
ओली समूहको शनिबार बालुटारमा बसेको बैठकले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यो स्पष्टीकरणको जवाफ नदिने नेताहरूले बताएका छन् ।
उपाध्यक्ष रावलले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको भन्दै जवाफ नदिने बताएका हुन् । रावलले ओलीको अवैध समितिबाट गरिएको स्पष्टीकरण सोध्ने निर्णयलाई आफूहरूले पूर्णतः अस्वीकार गर्ने बताएका छन् ।
'राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशो गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु,' रावलले ट्वीट गर्दै भनेका छन् ।
त्यस्तै अर्का स्थायी समिति सदस्य पाण्डेले पनि आफूहरूले स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । आफूहरुले जवाफ नदिने के कारबाही गर्छन् त्यो हेर्न आतुर रहेको बताए ।
रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रयाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंङतिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
ओली समूहको २८ फागुनमा बसेको बैठकले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेलबाहेकका पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेको थियो । त्यो पनि वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहले नमान्ने निर्णय गरिसकेको छ ।
ओलीले बोलाएको संसदीय दलको बैठक, केन्द्रीय कार्यसमिति बैठक र अन्य सबै क्रियाकलाप यो समूहले अस्वीकार गर्दै आएको छ । यो समूहले २०७५ जेठ २ गते रहेको समितिमात्रै आफूहरूलाई मान्य हुने बताउँदै आएको छ ।