नेपाल कबड्डी लिग माघ ४ बाट

राम्रो अनलाइन     ०७ पुस २०८१, आइतबार
नेपाल कबड्डी लिग माघ ४ बाट

 

काठमाडौं – नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ देखि १९ गतेसम्म हुने भएको छ । आइतबार खेलाडी टक्सको नयाँ श्रृंखलामा उपस्थित भएका अखिल नेपाल कबड्डी संघ (अनेकस) का महासचिव अरविन्द झाले प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने जानकारी गराएका हुन् ।

प्रतियोगिताको पहिलो संस्करणमा धनगढी वाइल्ड क्याट्स, विराटनगर ब्यानडिट्स, हिमालयन रेडर्स, जनकपुर नाईट्स, काठमाडौं म्याभरिक्स र पोखरा लेकर्स गरि ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुनेछ ।

महासचिव झाले एनकेएलले नेपाली कबड्डीको स्तर माथि लैजाने प्रतिक्रिया दिए । उनले भने, ‘हामीले पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता गर्दैछौं । खेलाडीहरुले राम्रो पारिश्रमिक पाउँदै छन् । आउने २/३ वर्षमा नेपाली कबड्डी खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्नेछन् ।’

त्यस्तै झाले एनकेएललाई आउने केही वर्षमै भारतीय प्रो कबड्डीकोस्तरमा लैजाने सोचमा रहेको पनि बताए । ‘जसरी भारतीय प्रो कबड्डी लिगले विश्वव्यापी चर्चा कमाएको छ । हाम्रो योजना पनि त्यही छ । हाम्रो यो पहिलो प्रयास हो । आउने दिनमा हामी एनकेएललाई भारतीय प्रो कबड्डीकै स्तरमा लैजनेछौं,’ झाले भने, ‘हामी कबड्डीलाई नेपालकै लोकप्रिय खेल बनाउनेछौं ।’

प्रतिक्रिया