नेकपाका दुबै खेमा आ–आफ्नै रणनीतिमा

ओली पक्ष निर्वाचन केन्द्रित, दाहाल–नेपाल पक्षले आन्दोलन झन चर्काउने
राम्रो अनलाइन     ०२ माघ २०७७, शुक्रबार
नेकपाका दुबै खेमा आ–आफ्नै रणनीतिमा

औपचारिक रूपमा फुट भएको घोषणा गर्न बाँकी रहेको नेकपाका दुई पक्ष आ–आफ्नै रणनीतिमा लागेका छन् । बिहीबार दुबै खेमाको स्थायी समिति बैठक बस्यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा र पुष्पकमल दाहाल तथा माधव नेपाल समूहको बैठक पेरिसडाँडामा बस्यो ।

ओली पक्ष निर्वाचन केन्द्रित 
प्रधानमन्त्री ओली पक्ष निर्वाचन केन्द्रित भएको छ । बालुवाटारमा बसेको स्थायी समिति बैठकले निर्वाचनका निम्ति माहोल सिर्जना गरेर जानुपर्नेमा छलफल गरेको छ । त्यस्तै आधारभूत तहमा सोचिएभन्दा राम्रो हुँदै गएको यो समूहको विश्लेषण रहेको छ ।

एक नेताका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनपछि देशव्यापी रुपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले हालैको वस्तुस्थितिबारे ब्रिफिङ गरेको ती नेताले बताए । 

दाहाल–नेपाल आन्दोलन केन्द्रित
प्रतिनिधिसभाको अचानक विघटनपछि दाहाल–नेपाल समूह आन्दोलित भएको छ । उसले विभिन्न विरोधसभाहरू समेत गरेको छ । बिहीबार बसेको स्थायी समिति बैठकमा यो खेमाले आन्दोलनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल ग¥यो । 

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका अनुसार बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको बताए । उनले राजधानी काठमाडौँमा माघ २३ गते १ लाख मानिस उतारेर विरोध प्रदर्शन गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया