नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार, माघ २२) आमहडतालको घोषणा गरेको छ । बुधबार संसदीय सुनुवाइबिना नै सरकारले संवैधानिक निकायमा सिफारिस पदाधिकारीलाई नियुक्त र सपथ गराएपछि सो समूहले हडताल गर्ने घोषणा गरेको हो ।
संवैधानिक आयोगको बहुमतको निर्णयबाट सिफारिस भएका ३२ जना प्रमुख आयुक्त÷अध्यक्ष तथा आयुक्त÷सदस्यहरूलाई बुधबार राष्ट्रपति विद्या भण्डारीले नियुक्त गरेकी थिइन् । उनीहरूले राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका थिए ।
सो सपथ समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै नेकपा दुई भाग विभाजित बनेको छ । योसँगै प्रचण्ड–माधव समूहले सडक आन्दोलन गर्दै आइरहेको छ ।
हडताल गरे कारबाही गरिन्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले कुनै पनि समूहले जबरजस्त हडताल गरे कानून बमोजिम कारबाही गरिने बताएको छ । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आमहडतालको घोषणा गरेपछि विज्ञप्ति जारी गर्दै सो समूहविरुद्ध कठोर हुने संकेत गृहले देखाएको हो ।
‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी सार्वजनिक सवारी, निजी व्यवसाय लगायतका दैनिक हुने पेसा व्यवसाय सञ्चालनका लागि सुरक्षाको व्यवस्था सरकारले गर्ने बताइएको छ ।
