काठमाडौं– नेपालकै पहिलो बिस्कुट उद्योग नेबिको प्रालिले चारवटा उत्पादन बजारमा ल्याएको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत बिस्कुट, चिउरालगायत विभिन्न चार नयाँ उत्पादन बजारमा ल्याएको हो। सार्वजनिक नयाँ उत्पादनमा डाएजेस्टिभ–५०, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुमकुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स ब्रान्ड रहेका छन्।
१५० ग्रामको डाएजेस्टिभ–५० बिस्कुटको मूल्य ५० रूपैयाँ, १८० ग्रामको नाइस मिल्क कुकिजको मूल्य ५० रूपैयाँ, ८०० ग्रामको कुरुमकुरुम चिउराको मूल्य ९५ रूपैयाँ र ३५ ग्रामको प्याकेटमा भएको साल्टेड पिनट्सको मूल्य २० रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिकोको प्लान्टमा गत साउन २२ गते राति आगलागी भएको थियो। आगलागीको ४४ दिनपछि कम्पनीले नयाँ उत्पादन बजारमा सार्वजनिक गरेको जनाएको छ।