मङ्गोलियामा खराब मौसमका कारण ३० लाख भन्दा बढी गाईवस्तुको मृत्यु

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
मङ्गोलियामा खराब मौसमका कारण ३० लाख भन्दा बढी गाईवस्तुको मृत्यु

मङ्गोलिया– मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस बर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले  जनाएको छ ।

जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईवस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 

जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो ।  यो अवस्थामा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठूलो सङ्ख्यामा गाईवस्तुहरू मर्ने गर्छन् ।

मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ  परेको छ ।  मङ्गोलियाको ८०  प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो ।
 

प्रतिक्रिया