काठमाडौँ– चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को फरक फरक पोस्टरहरू सार्वजनिक भइरहेका छन् । फिल्म रिलिज हुन अब एक महिना बाँकी रहेको समयमा यसको निर्माणपक्षले केही पोस्टर र गीत मात्र सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य तीन कलाकारहरू विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बनियाँलाई देखाइएको छ । तर, पोस्टरमा यी तिनको बाल्यकालको अवस्था देखाइएको छ । डाइपर लगाएका यी तीन पैसाको अगाडि बसेका छन् । सानैबाट पैसाका लोभी रहेका यी तीनलाई पछि गएर पैसाले सराप्छ भन्दै क्याप्सन लेखिएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । यो वर्षकै प्रतीक्षित फिल्मको रुपमा रहेको ‘महाजात्रा’ले बक्स अफिसमा पनि बम्पर कमाई गर्ने आँकलन गरिएको छ ।
२०७३ सालमा रिलिज भएको ‘जात्रा’को यो तेस्रो श्रृंखला हो । यो श्रृंखलामा हरिवंश पनि जोडिएका छन् । यो फिल्ममा हरिवंशले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्म चैत १० मा जापानको राजधानी टोकियोमा पनि रिलिज हुने भएको छ ।