मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी

राम्रो अनलाइन     २४ वैशाख २०८१, सोमबार
मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी


कर्णाली– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले जुम्ला घोषणापत्र जारी गरेको छ ।

प्रतिष्ठान र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर मेन्टल हेल्थ इक्विटी (एलजीआइएमएफ) कार्यक्रमअन्तर्गत ‘सबैका लागि मानसिक स्वास्थ्यमा नवप्रवर्तन र सहकार्य’ विषयमा सिएमसी, हेल्थ फाउण्डेसन, मेन्टल हेल्थ संस्था र हेल्थ कोप्र्स नेपालको सहकार्यमा यही वैशाख २२ देखि २३ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनले ‘जुम्ला घोषणापत्र’ जारी गरेको हो । 

सम्मेलनले विशेषगरी मुलुकमा विशाल समस्याका रुपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको निष्कर्ष निकाल्दै नौ बुँदे जुम्ला घोषणापत्र जारी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले राससलाई जानकारी दिए ।

उनका अनुसार घोषणापत्रमा तीनबुँदे ग्लोबल सिफारिस गरिएको छ । त्यसमा समानता र न्यायको सिद्धान्तका आधारमा मानसिक स्वास्थ्य अवस्था सुधारका लागि स्रोत जुटाउन अन्तर्राष्ट्रिय सरकारी तथा गैर सरकारी र दाता निकायबाट स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन तथा कोष वृद्धि गर्ने, मानसिक स्वास्थ्यका लागि दीगो क्षमता विकास गर्न उच्च आय भएका देश, अनुसन्धान तथा प्राज्ञिक संस्थासँगको सहकार्य बढाउने र अधिकारमा आधारित सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमलाई सशक्त बनाएर लैजाने विषय सिफारिस गरिएको हो ।

त्यस्तै सो घोषणापत्रमा छ बुँदे निष्कर्षसहितको प्रतिबद्धता गरिएको छ । त्यसअनुसार नेपालका धेरै स्वास्थ्य केन्द्र तथा प्राज्ञिक संस्थाले मानसिक रोग विशेषज्ञ तथा मनोवैज्ञानिक पाउन ठूलो सङ्घर्ष गरिरहेका छन् । यसका लागि नेपालमा सरकारी तथा गैरसरकारी निकायले मानसिक स्वास्थ्य क्षेत्रमा गरेको प्रगति र सम्बोधन तथा मानसिक स्वास्थ्य समस्याको पहिचान गरी थप कार्यगत योजना अगाडि बढाउनुपर्दछ ।  

घोषणापत्रमा सिङ्गो नेपालको मानसिक स्वास्थ्यावस्थामा सुधार ल्याउन साझेदार निकायले समुुदायस्तरमै गएर काम गर्नुपर्ने र योगदान तथा सेवालाई बढोत्तरी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साइक्याट्री विभाग तथा प्रादेशिक अस्पतालको सशक्तीकरण गर्न र मानसिक स्वास्थ्य सेवा प्राप्तिका लागि सम्बन्धित निकायले अवसरको अन्वेषण गर्नुपर्ने औँल्याइएको छ । 

त्यसैगरी साझेदार निकायले स्थानीयस्तरमा प्राप्त सामुदायिक स्रोत तथा सहयोगका लागि विद्यमान अवस्थामा काम गर्दै आएको जनशक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रशिक्षण दिएर उनीहरुको प्रवद्र्धन गर्ने र सामुदायिक मानसिक स्वास्थ्यको मुद्दालाई अगाडि बढाउन आयोजक संस्थाहरुले पुनःआगामी वर्षमा पनि यही मुद्दामा अन्तर्राष्ट्रियस्तरको सम्मेलनको आयोजना गर्ने निष्कर्ष निकालिएको छ ।
 

प्रतिक्रिया