डा. भोला रिजालको मानसरोवर फिल्म कम्पनीबाट ‘अप्सरा’ फिल्म निर्माण हुँदै थियो । उहाँको पारिवारिक कार्यक्रम थियो । म पनि परिवारसहित त्यहाँ पुुगेकी थिएँ । डा. रिजालसँग मेरो भेट भयो । मलाई देखेपछि उहाँलाई म मन परेछु । विशेष गरी मेरा आँखा उहाँलाई खूब मन परेछन् । उहाँले मलाई ‘अप्सरा’ फिल्मका लागि अफर गर्नुभयो । मैले भर्खरै एसएलसी सकाएकी थिएँ । १८ वर्षकी थिएँ त्यतिखेर । तर, परिवारका सबै बौद्धिक पेशामा आबद्ध भएकाले फिल्ममा काम गर्छु भन्दा ‘पढाइमा ध्यान देऊ’ भन्नुुभयो । उहाँहरू मान्नुुभएन ।
गाउँको केटीको रोल गर्नुपर्ने थियो । ‘कहिल्यै गाउँ नै नगएको मान्छेले कसरी गाउँको केटीको अभिनय गर्छौ’ भनेर टार्नुहुुन्थ्यो । लज्जालुु स्वभावकी थिएँ । सबैसामुु खुलेर प्रस्तुुत हुन सक्दिनथेँ । फिल्म क्षेत्रतिर लाग्ने सोचै थिएन । तर, साथीभाइको सपोर्टले फिल्म खेल्न हौस्यायो ।
एक्टिङ आउँदैनथ्यो । नाचघरमा नाटक हेर्थें र सिक्थेँ । सुुटिङ हुुन एक महिना मात्र बाँकी थियो । त्यो अवधिमा मैले थुप्रै फिल्म हेरेँ । अभिनयको अभ्यास गरेँ ।
फिल्म सुटिङको पहिलो दिन निकै डर लागेको थियो । फिल्ममा मेरो भूमिका गाउँले केटीको थियो । हिरो रमेश उप्रेती हुनुहुन्थ्यो । फिल्ममा विपना थापा पनि हुुनुुहुुन्थ्यो । त्यतिबेला उहाँहरू चर्चित हुुनुुहुुन्थ्यो । उहाँहरूको बीचमा मैले काम गर्नुुपर्ने थियो । एउटा सिनमा रमेशजी र विपनाजी चुुपचाप बस्नुुपर्ने थियो र मेरो चाहिँ रुँदैरुँदै डायलग बोल्नुुपर्ने थियो । पहिलो पटक क्यामेराअगाडि बोल्नु पर्दा थुुरथुुर कामेको अहिले पनि याद छ । त्यहाँ उपस्थित काम गर्ने सबैजनाले सहज महसुुस गराउनुुभयो । होमवर्क गरेजसरी डायलग कण्ठ पारेर जान्थेँ । डायलग भनिसकेपछि मिल्यो कि मिलेन भनेर बच्चाजस्तै सोधिरहन्थेँ । मैले डायलग भनेपछि सबैजना ताली बजाएर स्याबासी दिनुुहुुन्थ्यो ।
सुुटमा मेकअपलगायत अरू काम अर्कैले गरिदिने भएकाले आफू विशेष मान्छे भएको महसुुस हुन्थ्यो । रमेश उप्रेतीसँगको एउटा सिन मलाई साह्रै अप्ठ्यारो लागेको थियो । हिँड्दै जाँदा उहाँको नजिक गएर हात समात्नुपर्ने सिन थियो । त्यो सिनमा डरले हात काँपेर मुटु नै ढुकढुक भएको थियो । कसैले केही भन्ने हो कि भन्ने लाग्यो । त्यो दृश्य अहिले पनि सम्झन्छु ।
फिल्म रिलिज भयो, हिट भयो । राम्रो प्रतिक्रिया पाएँ । पछि म आफ्नो नामले भन्दा पनि ‘अप्सरा’ कै नामले चिनिएँ ।