बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचन जितेर अहिले एमालेमा प्रवेश गर्ने दुई सांसदको पद गएको छ । माओवादी केन्द्रले पार्टी छोडेर एमालेमा लागेका दुई सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीलाई कारबाही गरेको पत्र माओवादीले आइतबार प्रदेशसभा सचिवालयमा बुझाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
त्यससँगै उनीहरूको सांसद पद नियमावली बमोजिम रिक्त भएको छ । प्रदेश सभाको बैठक सोमबार बस्दैछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेताद्वय पन्थी र न्यौपाने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि उनीहरू माओवादीमा नफर्किएर एमालेमै रहने बताउँदै आएका थिए । माओवादी केन्द्रले पार्टीमा फर्किन न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरूले आफूहरू एमालेमै रहने निर्णयमा पुगेकाले स्पष्टीकरणको जवाफ दिनु नपर्ने बताएका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक वसन्त घर्ती मगरले स्पष्टीकरणको जवाफ नआएपछि सांसदद्वय न्यौपाने र पन्थीलाई कारबाही गरिएको बताए । लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये माओवादी केन्द्रका २० सांसद छन् ।
तीमध्ये दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग लुम्बिनी प्रदेशसभामा १८ सांसद कायम रहनेछन् । न्यौपानेले आफू वैचारिक रूपमै एमालेमा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने बताउदै आएका छन् ।