लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

राम्रो अनलाइन     ०९ वैशाख २०८३, बुधबार
लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सिरहा– यहाँको लहान नगरपालिका–२१ कालाबञ्जरस्थित हुरी प्रभावित मुसहर समुदायका लागि नगरपालिकाले पक्की घर निर्माण गरिदिने भएको छ । गत शनिबार साँझ आएको विनाशकारी हुरीले घरको छाना उडाउनुका साथै भौतिक क्षति पुर्याएपछि बिचल्लीमा परेका परिवारका लागि नगरपालिकाले सुरक्षित आवासको व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाले ‘ह्याबिट्याट फर ह्युमानिटी’ सँगको साझेदारीमा २१ नयाँ सुरक्षित घर निर्माण गर्ने र फुसको छाना उडेका सातवटा घरमा जस्तापाता लगाउने गरी आवास व्यवस्थापनको योजना अघि बढाएको छ । यसै सन्दर्भमा नगरप्रमुख महेशप्रसाद चौधरीले मङ्गलबार प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै केही साताभित्रै निर्माण सुरु गर्नेगरी प्राविधिकहरूले नापजाँचको काम थालिसकेको जानकारी दिए ।

निरीक्षणका क्रममा नगरप्रमुख चौधरीले भने, ‘नगरवासीको सुरक्षित बसोबास, शिक्षा र स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता हो । वातावरणमैत्री पक्की घर बनेपछि यहाँका नागरिकलाई प्राकृतिक विपद्को समयमा सधैँका लागि ढुक्क हुनेछ ।’ यसअघि यहाँका पीडित घरपरिवारलाई नगरपालिकाको तर्फबाट राहत वितरण गरिसकेको उनले जानकारी दिए ।

नगरपालिकाले भूमिहीन तथा सुकुम्बासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि दोस्रो चरणमा थप ५०० वटा घर निर्माण गर्ने योजना अघि सारेको छ । सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने रणनीतिअनुसार प्राथमिकताका आधारमा यो योजना कार्यान्वयन गरिने नगरप्रमुखले बताए । 

गत शनिबारको हुरीले लहान–२४ मा जनता आवास कार्यक्रमअन्र्तगत निर्माण भएका सात र वडा नं १९ मा एक स्थानीयको घरमा समेत क्षति पुर्याएको थियो । सोही हुरीका कारण सखुवानन्कारकट्टी गाउँपालिका–२ मक्रमपुरमा घरको पर्खाल भत्किँदा ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया