कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ...

राम्रो अनलाइन     ०३ माघ २०७९, मङ्गलबार
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ...

गण्डकी–कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । 

प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काएकी  थिइन्–

‘हे... सब मरिन्छ, त्यही अन्तिम वर्षमा
बाँचुञ्जेली बाँचम् न हर्षमा...’ 

जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भनेभौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । 

पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुपर्‍यो ।

गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उनलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनेछिन् ।

बागलुङको बडिगाड गाउँपालिका(३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ ।  

लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगत्ले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिए । ‘प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्योू, गायक खत्रीले सम्झिए ।

गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाए । 

उनीहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै थिइन् । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । 

गायिका निराको निधनले मर्माहत बनेका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने भएका छन् । ‘बैनीको दुःखद् घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ’, गायक खत्रीले भने, ‘मैले नै सिफारिस गरेर निरा बैनी भीमापोखरा आउने योजना बनेको थियो ।’

आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमापोखरा जाने कार्यक्रम थियो । 

‘बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो’, गायक खत्रीले भने, ‘त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।’

प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युव च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गरे । ‘एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै’, विकले भने, ‘मञ्चीय कार्यक्रममा दर्शकरस्रोतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।’

‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत भएकी थिइन् । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । 

तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताए । ‘प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उनको गायनमा झल्कन्थ्यो’, विकले भने, ‘अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।’ 

बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुची लिएर गायन क्षेत्रमा लागेको बताइन् । ‘पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भनिन्, ‘दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।’

सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिरेकी थिइन् । गायनमा सफल हुँदै गएपछि उनका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन् । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन् । 

पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएकी थिइन् । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताएकी थिइन् । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध बनेको बताए ।

‘सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ’, उनले भने्, ‘विद्यालयमा पढ्दादेखि नै नाच्नेगाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।’

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गरेकी थिइन् । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उनको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् । 

प्रतिक्रिया