क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलिब्रिज ल्याउने तयारी

राम्रो अनलाइन     २२ असोज २०८१, मङ्गलबार
क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलिब्रिज ल्याउने तयारी

 

चौतारा- सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने तयारी गरेको छ। हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलिब्रिज ल्याउने तयारी सरकारले गरेको हो।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्। उनले तातोपानीमा चाँडो बेलिब्रिज ल्याउने तयारी भइरहेको बताए।सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो।

उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन्। मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए। सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ। यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ। यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइएको छ। 

 

प्रतिक्रिया