कोरोनाविरुद्धको खोप नेपाल भित्र्याउन एनआरएनएले पहल गर्ने

राम्रो अनलाइन     ०१ माघ २०७७, बिहिबार
कोरोनाविरुद्धको खोप नेपाल भित्र्याउन एनआरएनएले पहल गर्ने

नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहल गर्ने भएको छ।

भर्चुअल माध्यमबाट गरिएको एक कार्यक्रमका सहभागीले कोरोना खोप नेपाल ल्याउन पहल गर्ने बताएका हुन्। विश्व स्वास्थ्य संगठनका दक्षिण एसियाली खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग एनआरएनए स्वास्थ्य समितिले गरेको सो कार्यक्रममा यस्तो बताइएको हो। समितिले डा. खनालसँग नेपालमा कोभिडविरुद्धको खोप लैजना सकिने सम्भावना र चुनौतिको बारेमा छलफल गरेको थियो।

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघले विज्ञको रायको आधारमा खोप नेपाल ल्याउन सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले एनआरएनए नेपाल सरकारसँगको सहकार्यमा खोप किन्न तयार रहेको बताए।

कार्यक्रममा डा. खनालले नेपाल भित्र्याउने खोप विश्व स्वास्थ्य संगठनबाट मन्यता प्राप्त हुनुपर्ने बताए। उनका अनुसार तत्काल बेलायत, जर्मनी लगायतका मुलुकले विकास गरेका खोप नेपाल भित्र्याउने बारे छलफल भइरहेको जानकारी दिए।

डा. खनालका अनुसार नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने देखिएको छ।

संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी समेत थालेको बताएको छ। सरकारले बुधबार विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको थियो।
 

प्रतिक्रिया