कोभिड-१९ संक्रमित सांसद पनि विश्वासको मत दिने\नदिने मतदानमा सहभागी हुन पाउने

राम्रो अनलाइन     २७ वैशाख २०७८, सोमबार
कोभिड-१९ संक्रमित सांसद पनि विश्वासको मत दिने\नदिने मतदानमा सहभागी हुन पाउने

काठमाडौं । कोभिड १९ संक्रमित प्रतिनिधि सभाका सदस्यहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने\नदिने मतदानमा सहभागी हुन पाउने भएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मतदान कार्यक्रमका लागि त्यस्तो व्यवस्था मिलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आज संसदमा बोल्ने र त्यसपछि विश्वासको मतको प्रस्तावमा मतदान हुने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कोभिड १९ संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिनिधि सभा बाहिर टेन्टमा मतदानको व्यवस्था मिलाइएको र सांसदहरूलाई हावा जाने खुला स्थानमा बस्ने व्यवस्था मिलाएर संक्रमित सांसदलाई मत दिने व्यवस्था मिलाउने तयारी भएको योगीले बताए । 

प्रतिनिधि सभाका २६ सांसमा कोभिड संक्रमण देखिएको छ । 

सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन् । मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ।

प्रतिनिधि सभामा हाल २७१ सांसद छन् । प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत भए पुग्छ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीलाई मत नदिने भनेका छन्। एमालेले ह्वीप जारी गरेको छ तर माधव नेपाल पक्षले मत दिन्छन् कि दिँदैनन् अझै यकिन भइसकेको छैन। जसपाले पनि तटस्थ बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया