किशोरकिशोरी र उत्ताउलोपन

एजेन्सी     ०९ फागुन २०७७, आइतबार
किशोरकिशोरी र उत्ताउलोपन

किशोरकिशोरी उत्ताउला हुन्छन्। तिनलाई सही बाटो कसरी देखाउने ? तनाव कसरी झेल्न लगाउने र यो उमेरमा हुने सामाजिक द्वन्द्व कसरी कम गर्ने ?


लिसा दमोर

किशोरकिशोरी उत्ताउला हुन्छन्। कहिलेकाहीँ तिनले मूर्खतापूर्ण काम गर्छन्। भद्र र विचारशील देखिनेले समेत कहिलेकाहीँ लापर्बाही र बेवकुफी देखाउँछन्। अनुभवले के भन्छ भने कोही बढी सनकी हुन्छन्, कोही कम। त्यसैले किशोरवयका सबैको दिमाग उस्तै हुन्छ भन्न सकिन्न। 

यद्यपि, किशोरकिशोरीबारे एक नयाँ अनुसन्धानले जोखिम लिने विषयमा सबैको दिमाग उस्तै हुने बताएको छ। तर, उनीहरूमा आफूलाई नियन्त्रण गर्ने शक्तिको मात्रा भने फरक–फरक हुन्छ। यसै कारण कोही ज्यादा उट्पट्याङ हुन्छन्, कोही कम। अफ्रिका, एसिया, युरोप र अमेरिकाका ११ मुलुकका पाँच हजार जनामा यो अनुसन्धान गरिएको थियो। 

‘केटाकेटी कसरी हुर्किन्छन्, त्यसले ठूलो अर्थ राख्छ,’ यो अध्ययनका मुख्य लेखक तथा टेम्पल युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक लरेन्स स्टेनबर्ग भन्छन्, ‘उमेरकै कारण मात्रै उनीहरू लापर्बाह बन्ने होइन।’ 

किशोरकिशोरीमा सनसनी र अत्यधिक उत्तेजनाको खोजी गर्ने चाहना १९ वर्षको उमेरमा सबैभन्दा बढी हुने स्टेनबर्ग र उनका सहकर्मीको भनाइ छ। उमेर बढ्दै जाँदा यस्तो चाहना घट्न थाल्छ। यस विपरीत आत्मनियन्त्रण अर्थात् सनकलाई काबुमा राख्ने क्षमता चाहिँ २४ वर्षको उमेरसम्म निरन्तर बढिरहन्छ। तर, सनसनीको खोजी गर्ने चाहना किशोर उमेरमा आत्मनियन्त्रणको शक्तिभन्दा निकै बलियो हुन्छ। किनभने, उत्ताउलोपन शरीर विज्ञानसँग पनि सम्बन्धित छ।

‘तर, शरीर विज्ञानसँग सम्बन्धित छ भन्दैमा यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने होइन,’ स्टेनबर्ग भन्छन्, ‘चीनमा पनि किशोरकिशोरीमा सनसनीको चाहना बढ्ने हुन्छ। तर, चिनियाँ किशोरकिशोरीमा अमेरिका र पश्चिम युरोपमा जस्तो लागुऔषध प्रयोग र असुरक्षित यौनको दर उच्च छैन।’

ठाउँअनुसार किशोरकिशोरीको जोखिम लिने मात्रा पनि घटबढ हुने गर्छ। उदाहरणका लागि इन्डोनेसियाली किशोरकिशोरीमध्ये दुई प्रतिशतले मात्र बितेको महिना मादक पदार्थ सेवन गरे। 

जबकि, अर्जेन्टिनामा यो दर ५० प्रतिशत छ। किशोरकिशोरीले सीमा कति भत्काउँछन् भन्ने रीतिरिवाज तथा अवसरमा पहुँचको ढाँचामा निर्भर हुन्छ। स्टेनवर्गको भनाइमा जोखिम लिने दर कम भएका मुलुकले उनीहरूलाई ‘सानैदेखि आत्मनियन्त्रण सिकाउँछन्। अत्यधिक खाली समय दिँदैनन्।’
 
तर, अमेरिकामा उल्टो संस्कृति छ। यहाँ किशोरावस्थालाई उन्मुक्त समयको रूपमा मनाइन्छ। यही बेला उनीहरू सीमा नाघ्छन्, जोखिम मोल्छन् र स्वतन्त्रता खोज्छन्। 

अमेरिकीहरू व्यक्तिगत स्वतन्त्रतालाई राष्ट्रिय पहिचानकै रूपमा लिन्छन्। तर, किशोरकिशोरीलाई सुरक्षित राख्ने मामिलामा यो चलन उपयुक्त नहुन सक्छ। निश्चित शैक्षिक योग्यता भएकालाई मात्र चालक अनुमतिपत्र दिने चलनले थुप्रै राज्यमा दुर्घटनाबाट हुने मृत्यु र अंगभंगको संख्या घटाएको छ। सामान्यतः जति हेरचाह र निरीक्षण ग¥यो, किशोरकिशोरी दुर्घटनाबाट बच्ने सम्भावना उति नै बढी छ। 

चाहनाले मात्र किशोरकिशोरी समस्यामा पर्ने होइनन्। तिनले मौका पनि पाउनुपर्छ। त्यसैले अभिभावकले तिनको राम्रो हेरचाह गर्नुपर्छ र उनीहरूलाई आफ्नो सुरक्षाका लागि प्रेरित गर्नुपर्छ। 

सामान्य देखिने किशोरकिशोरी पनि अनपेक्षित परिस्थितिमा परे भने तिनले मूर्खता देखाउन सक्छन्। उदाहरणका लागि साथीको घरमा भेला भएका बेला कसैले गाँजा खाउँ भन्यो भने के गर्ने ? वा मात लागेको बेला गाडी चलाएर घर जानुपर्ने भयो भने के गर्ने ? धेरैजसो अभिभावक आफ्ना सन्तान यस्तो परिस्थितिमा परेको सोच्नसमेत चाहँदैनन्। तर, उनीहरूसँग काल्पनिक विषय उठान गरेर भए पनि यस्ता विषयमा कुरा गर्दा फाइदा हुन्छ। 

स्टेनवर्गका अनुसार कहिलेकाहीँ सनकले नियन्त्रणलाई पराजित गर्दा किशोरकिशोरीले खराब निर्णय गर्छन्। कहिलेकाहीँ उनीहरू राम्ररी सोचविचार गरेरै पनि खतरनाक निष्कर्षमा पुग्ने गर्छन्। 

उदाहरणका लागि कन्डममा तत्काल पहुँच नभएको किशोरकिशोरीले गर्भ रहने जोखिम र यौन सम्बन्ध कायम गर्नुको फाइदालाई तौलिन सक्छ। अन्त्यमा ऊ निरोधकबिनै यौन सम्पर्क गर्ने निर्णयमा पुग्न सक्छ। तर, एउटा वयस्कले अनिच्छित गर्भाधानको समस्या बेहोर्नुभन्दा यौन सम्पर्कको मौकालाई जान दिनु उचित ठह¥याउन सक्छ। 

कोर्नेल विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक भेलेरी रेना र युनिभर्सिटी अफ टेक्सस–डलासका मनोविज्ञ ब्रिटेन मिल्सले हालै पत्ता लगाएअनुसार किशोर उमेरकालाई व्यावहारिक तरिकाबाट आफ्नो रोजाइबारे आधारभूत कुरा सिकाउन सकिन्छ। उनीहरूले असुरक्षित यौन सम्पर्कबाट ‘एकै पटकमा रोग सर्छ’ र ‘ढिलोचाँडो गर्भ रहेरै छोड्छ’ भन्ने तर्कमा जोड दिएर किशोरकिशोरीमाझ एउटा कार्यक्रम चलाएका थिए। 

‘व्यक्तिले निर्णय लिँदा सोच्ने तरिका एक पटक फेरियो भने त्यो दीर्घकालसम्मका लागि रहन्छ,’ रेना भन्छन्। उनका अनुसार निर्णय लिँदाको स्पष्ट नियम र त्यसका फाइदा किशोर उमेरकालाई बारम्बार सम्झाइरहनुपर्छ। यसमा स्टेनबर्गपनि सहमत छन्। ‘किशोर उमेरकालाई मनाउन कहिलेकाहीँ एउटै कुरा छ पटक भन्नुपर्ने समेत हुन सक्छ,’ उनी भन्छन्। 

तनावबाट नभागौँ 

किशोरकिशोरीमा तनावका अनेक कारण हुन सक्छन्। पढाइको दबाब, साथी समूहको दबाब आदि। तर, उनीहरूलाई कति दबाब छ भन्दा पनि तीबारे उनीहरू कसरी सोच्छन् भन्ने महŒवपूर्ण हुने गर्छ। 

तनाव सधँै नराम्रै हुन्छ भन्ने छैन। मनोविज्ञहरूका अनुसार लगातार र पीडादायी तनाव विषालु हुन्छ। तर, तनाव स्वस्थ जिन्दगीको महŒवपूर्ण पाटो पनि हो। उदाहरणका लागि परीक्षाको बेला हुने तनावलाई लिन सकिन्छ। २०१३ मा एक जर्नलमा लेख्दै अध्येता एलिया जे क्रम, पिटर सालोभी र सन एकरले तनावमा दिइने प्रतिक्रियाले दिमाग र शरीरलाई सधँै श्रेष्ठतम अवस्थामा राख्न सहयोग गर्छ। 

तर, सहज ज्ञानले के भन्छ भने तनावले नोक्सान गर्छ। त्यसैले हामीले यसलाई घटाउनुपर्छ। यसबाट जोगिनुपर्छ। यसप्रतिको नकारात्मक धारणाले अभिभावकत्वको तरिकामा असर पार्छ। किशोरकिशोरी आफ्ना तनावलाई लिएर झन् बढी तनावमा पर्न सक्छन्। 

त्यसैले स्वस्थ तनाव अवश्यम्भावी रहेको तथ्य स्विकार्नुपर्छ। हुर्काइ र सिकाइमा यसले ठूलो प्रभाव पार्छ। ‘तनावबाट जोगिएर मात्र काम चल्दैन,’ युनिभर्सिटी अफ रोचेस्टरका मनोविज्ञान प्राध्यापक जेरेमी पी जेमसन भन्छन्, ‘यो त सम्भव पनि छैन। केही प्राप्त गर्न र हुर्किन हामी आफ्नो सुविधाको क्षेत्रभन्दा बाहिर निस्केर चुनौतीको सामना गर्नुपर्छ।’ 

अनुसन्धानले देखाएअनुसार जीवनमा कठिन परिस्थितिको सामना गरेर अघि बढेका व्यक्ति अरूभन्दा बढी लचक हुन्छन्। छोटोमा भन्दा परिस्थितिलाई नियन्त्रण गर्न सिकेका मान्छेहरू भावनात्मक रूपमा शक्तिशाली हुन्छन्।

तनावलाई सकारात्मक र नकारात्मक रूपमा लिने दुई खालका विद्यार्थी हुन्छन्। जसले सकारात्मक रूपमा लिन्छन्, तिनले अरूलाई उछिन्छन्। अझ महŒवपूर्ण कुरा तनावलाई काम लाग्ने चीजका रूपमा लिँदा त्यसले शारीरिक रूपमा पनि प्रभाव पार्छ। दबाबका बीच पनि राम्ररी काम गर्न सक्छ। त्यसैले तनावबाट भाग्नु उपयुक्त हुँदैन। बरु, यसलाई सही तरिकाले व्यवस्थापन र उपयोग गर्नुपर्छ। 

तर, के तनावलाई सकारात्मक रूपमा लिँदैमा किशोरकिशोरीको समस्या कम हुन्छन् त ? पक्कै पनि त्यस्तो हुँदैन। अहिले किशोरकिशोरीले धेरै खाले बोझ बोक्नु परिरहेको छ। हामीले उनीहरूलाई त्यो बोझबाट थिचिन दिनु हुँदैन। बोझ उठाउन सक्ने बनाउनुपर्छ। 

सामाजिक सीप र द्वन्द्व

हाइस्कुल पढ्ने एउटी किशोरी इन्स्टाग्राम चलाउँदै गर्दा थाहा पाउँछे, साथीको पार्टीमा उसलाई चाहिँ बोलाइएनछ। उसलाई दिक्क लाग्छ र आमाबुबासँग सल्लाह माग्छे। यस्तो परिस्थिति बारम्बार आइपर्छ। तर, अभिभावकसँग सधँै त्यसको उत्तर हुँदैन। किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै उनीहरू आफ्ना साथी समूहप्रति बढी वफादार बन्न थाल्छन्। 

सँगसँगै उनीहरूको द्वन्द्व पनि बढ्न थाल्छ। हाइस्कुल पढिरहँदा उनीहरूबीच सामाजिक टकराव र चित्त दुखाइ सुरु हुन्छ। जसले किशोरकिशोरीलाई समस्यामा पार्छ नै, वयस्कलाई पनि असर गर्न सक्छ। 

‘द्वन्द्वबाट बच्न सकिन्न र यो हुर्काइको एउटा बिन्दु पनि हो,’ २७ वर्ष पढाएकी एन्ड्रिया साफर भन्छिन्। यस्तो अवस्थामा कसरी व्यवहार गर्ने भन्ने विषयमा हुर्केबढेकाले किशोरकिशोरीलाई सहयोग गर्न सक्छन्। तिनको सामाजिक सीप बढाउन सक्छन्। कसरी गर्ने त सहयोग ?

जब किशोरकिशोरी सामाजिक समस्यामा पर्छन्, उनीहरूमाथि बुलिङ भएको निष्कर्ष हामी निकाल्छौँ। तर, त्यो नहुन सक्छ। असमझदारी, कुनै लापर्बाह टिप्पणी, गोपनीयता भंग वा मित्रता टुट्दासमेत सामाजिक द्वन्द्व सुरु हुन सक्छ। त्यसैले वयस्कहरूले यसको कारण खोजेर समयमै हस्तक्षेप गर्नुपर्छ र उनीहरूलाई सही बाटो देखाउनुपर्छ। 

कुनै पनि प्रकारको टकरावमा युवा तुरुन्तै र आक्रामक तरिकाले प्रतिक्रिया जनाउन चाहन्छन्। यसले समस्या अझ गम्भीर बनाउँछ। झगडा अनलाइनमा छताछुल्ल हुने खतरा पनि रहन्छ। तर त्यो गलत तरिका हो। त्यसैले उनीहरूलाई संयमित भएर आफ्ना लागि आफैँ उभिन र द्वन्द्व व्यवस्थापन गर्न सिकाउनुपर्छ। 

तर, यसका लागि ठूलो ऊर्जा आवश्यक पर्छ। रणनीतिक निर्णय गर्न निकै मुश्किल हुन्छ। झगडा बढाउँदा त्यसले गर्ने असर र साम्य पार्दाको प्रभावबारे छलफल गर्नुपर्छ। सामाजिक सीप बढ्दै जाँदा द्वन्द्वका कारण कम हुँदै जान्छन्। किशोरकिशोरीमा आत्मविश्वास पनि बढ्दै जान्छ। 

(‘अनट्यांगल्डः गाइडिङ टिनएज गल्र्स थ्रू द सेभेन ट्रान्जिसन्स इनटू एडल्टहुड’ पुस्तककी लेखक दमोर मनोविज्ञ हुन्। न्युयोर्क टाइम्समा छापिएको उनको यो लेख के. गिरीले नेपालीमा अनुवाद गरेका हुन्।)

प्रतिक्रिया