‘खुपीको बाउले पाउनु माया पायो’

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
‘खुपीको बाउले पाउनु माया पायो’

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल ‘भद्रगोल’ मा मैले खुपीको बाउको भूमिका गरेको छु। सिरियलमा छ वर्षसम्म खुपीको बाउ बनेँ। टेलिसिरियल ‘सक्किगो नि’ मा पनि खुपीकै बाउको भूमिका निर्वाह गरेको छु। भद्रगोलकै टिमले यो सिरियल बनाएको हो। खुपीको बाउलाई दर्शकले धेरै मन पराएकाले नयाँ टेलिसिरियलमा नाम बदलिनँ। खुपीको बाउले पाउनु माया पायो। 

सानैदेखि अभिनयमा रुचि थियो। तर, हास्य कलाकार बन्छु भन्ने सोच थिएन। कतिपय फिल्ममा पनि काम गरेको छु। फिल्ममा खलनायकको भूमिकामा देखिएको छु। जस्तो पनि भूमिकामा अभिनय गर्न रुचाउँछु। १७–१८ वर्षजति रंगमञ्चमा काम गरेँ। नाटक गर्दागर्दै टेलिसिरियलमा काम गर्ने मौका पाएको हुँ।

खुपीको बाउ बूढो र रमाइलो पात्र हो। सेटमा खुपीको बाउ बन्न लगभग आधा घण्टाजति लाग्छ। आफ्नो उमेरभन्दा १० वर्ष बूढो देखिनुपर्छ मैले। दाह्री मिलाउन समय लाग्छ। टोपी, दौरा–सुरुवाल, गलबन्दी पूरै गाउँले पाराको लुगा लगाउनुपर्छ। किनकि, खुपीको बाउ गाउँले पात्र हो। 

बोल्दा आफ्नो स्वरमा पूर्वेली टोन ल्याउन खोज्छु। कहिलेकाहीँ भनेजस्तो स्वर नआएर तनाव हुन्छ। सिरियलमा मैले दुइटा–तीनटा गाउँले थेगो बोल्नुपर्छ। तर, कहिलेकाहीँ आफूले भन्नुपर्ने थेगो नै बिर्सिन्छु। अरू डायलग भन्छु, भन्नुपर्ने कुरा बिर्सिन्छु।

धेरैले मलाई खुपीको बाउ भनेर चिन्छन्। बाटोमा हिँड्दा ‘ऊ खुपीको बाउ आयो’ भन्छन्। बच्चाहरू मेरो पछि–पछि लाग्छन्। कोही–कोही चाहिँ सिरियलमा मैले भन्ने गरेका थेगो भनेर जिस्काउँछन्। कसैले भने फिल्म ‘कबड्डी–कबड्डी’मा झण्डा बोकेर हिँड्ने ‘बिकेको बाउ’ भनेर पनि चिन्छन्। दर्शकले मन पराएकाले खुपीको बाउको माया लागेर आउँछ। उसको उमेर, लवाइखुवाइ, बोलीचाली मेरो वास्तविक जीवनसँग कत्ति पनि मेल खाँदैन। तर, खुपीको बाउ मेरो पहिचान बनिसकेको छ। 

धेरै वर्ष नाटकमा काम गरेकाले क्यामरासामु अभिनय गर्न अप्ठ्यारो लाग्दैन। क्यामेरासँग डर लाग्दैन। प्रायः सट एकै टेकमा ओके हुन्छन्। टिमका सबै सदस्य सहयोगी हुनुहुन्छ। कहिलेकाहीँ बोल्दाबोल्दै डायलग बिर्सियो भने उहाँहरूले मद्दत गर्नुहुन्छ। मन लागेको काम गर्न पाएकोले कामबाट एकदमै सन्तुष्ट छु । 

भविष्यमा थिएटरमा काम गर्ने सोचेको छु। थिएटर सँगसँगै टेलिसिरियल र फिल्मलाई पनि काम गर्नेछु। मेरो धरातलै थिएटर भएकाले नाटकलाई अलि बढी प्राथमिकता दिने गर्छु। 

प्रतिक्रिया