के हो योगभित्रको ‘नानो टेक्नोलोजी’  ? 

योगी विकासानन्द     १२ जेठ २०७८, बुधबार
के हो योगभित्रको ‘नानो टेक्नोलोजी’  ? 

मुद्रा योगको सूक्ष्म रूप हो । अहिले हामीले आसन, प्राणायाम र ध्यानबाट जेजति फाइदा लिइरहेका छौँ, त्योभन्दा धेरै फाइदा मुद्राबाट लिन सक्छौँ । मुद्रालाई योगभित्रको नानो प्रविधि पनि भन्न सकिन्छ । 


नानो युग 
आधुनिक विज्ञानको प्रवेश र प्रयोगसँगै मानव समाजले सम्पूर्ण भौतिक पक्षहरूमा अकल्पनीय फड्को मारेको छ । आधुनिक विज्ञानले दैनिक जीवन प्रक्रियादेखि शिक्षा, स्वास्थ्य, सूचनालगायत सम्पूर्ण पक्षमा प्रभाव पारिरहेको छ । खास गरी, प्रविधिसँग जोडिएको औधोगिक क्रान्तिपश्चात् सभ्यता विकासमा महत्वपूर्ण परिवर्तनहरू सुरु भएका हुन् । त्यसैले वर्तमान विश्वमा औद्योगिक क्रान्तिलाई सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याउने गरिन्छ । अहिले नेपालमा चर्चामा रहेको आर्थिक समृद्धिको विषय पनि यही औद्योगिक क्रान्तिसँग नै सरोकार राख्ने विषय हो ।

वर्तमानसम्म आइपुग्दा विज्ञानको क्रान्तिले चौथो चरणमा प्रवेश गरिरहेको बताइन्छ । अहिलेको संसार ‘नानो टेक्नोलोजी’को क्रान्तिबाट गुज्रिरहेको छ । के प्रक्षेपण गर्न लागिएको छ भने नानो प्रविधिको विकास र प्रयोगले सन् २०३० पछि मानिसको बाँच्ने शैलीमा नै आमूल परिवर्तन आउनेछ । अहिले करोडौँ रुपैयाँ पर्ने सामग्रीहरू नानो प्रविधिका कारण केही हजारमा उपलब्ध हुन्छन् भन्ने दाबीहरू सार्वजनिक भइरहेका छन् । विकसित मुलुकहरूमा नानो प्रविधि अन्तर्गतको नानो रोबोटहरू प्रयोगमा आइसकेका छन् । यस्ता रोबोट स्वास्थ्य, वातावरण, उद्योगलगायत क्षेत्रमा प्रयोग हुन थालिसकेका छन् ।

नानो प्रविधिले मानव स्वास्थ्य र आयुमा समेत अकल्पनीय परिवर्तन ल्याउने दाबी गरिएको छ । जसअन्तर्गत मानिसको जिन सम्पादन गरेर उसको रोग नष्ट गरिदिने र मानिसलाई लामो समयसम्म बाँच्ने अवस्था सिर्जना हुन्छ भनिन्छ । उदाहरणका लागि, क्यान्सर लागेको मानिसको जिनबाट नै क्यान्सर फालिदिएपछि ऊ पूर्णतः स्वस्थ रहन्छ र उसले दीर्घजीवन प्राप्त गर्छ । जिन सम्पादन गर्ने पद्धतिलाई अंग्रेजीमा ‘जिन एटिटिङ थेरापी’ भनिन्छ । अहिले नै कतिपय क्यान्सरका उपचारमा नानो रोबोटहरू प्रयोग हुन थालिसकेका छन् । 

अर्काेतर्फ नानो प्रविधिको प्रयोगसँगै हामीले गर्दै आएका सम्पूर्ण भौतिक र शारीरिक कार्य रोबोटले गर्ने आकलन गरिएको छ । जसबाट मालिक र मजदुर नै नरहने अवस्था सिर्जना हुनपुग्छ । बिरामीको अपरेसनदेखि खाना पकाउने कार्यसम्म रोबोटले ग¥यो भने श्रम बजारमा कस्तो परिवर्तन आउला ? हामी कल्पना गर्न सक्छौँ । यसरी हेर्दा युग आमूल रूपान्तरणको सँघारमा छ । आधुनिक विज्ञानको दाबीलाई हेर्ने हो भने हामीहरू २०–३० वर्ष अरू बाँच्यौँ भने युग परिवर्तनको भोक्ता बन्नेछौँ । त्यस्तै, सेक्स रोबोटको आगमनले विवाह संस्था र पारिवारिक संरचनामा समेत आमूल परिवर्तन ल्याउने देखिन्छ । अर्थात्, १० हजार वर्ष पुरानो मानव समाजमा उथलपुथल हुने निश्चितप्रायः देखिन्छ । 

मुद्राः योगको नानो रूप
यसरी हेर्दा आधुनिक विज्ञानामा स्थुल र सूक्ष्मतम दुई प्रविधि छन् । सूक्ष्मतम प्रविधिअन्तर्गतको नानो प्रविधिले वर्तमान विज्ञानको प्रचलनमा रहेको स्थुल प्रविधिलाई विस्थापित बनाउने तरखर गरिरहेको छ । त्यसै गरी, योगमा पनि स्थुल र सूक्ष्म दुई पक्ष छन् । अहिले हामीले योगका नाउँमा अभ्यास गरिरहेका योगासन र प्राणायाम योगका स्थुल रूप हुन् । 

योगमै प्रयोग हुने ‘मुद्रा’ योगको सूक्ष्म रूप हो । अहिले हामीले आसन, प्राणायाम र ध्यानबाट जेजति फाइदा लिइरहेका छौँ, त्योभन्दा धेरै फाइदा मुद्राबाट लिन सक्छौँ । अर्थात्, योगको स्थुल रूपभन्दा सूक्ष्म रूपबाट बढी फाइदा लिन सकिन्छ । त्यसैले मुद्रालाई योगभित्रको नानो प्रविधि पनि भन्न सकिन्छ । 
योगासनको विषयमा जेजति काम भइरहेका छन्, सो अनुरूप मुद्राको विषयमा काम हुन सकेको छैन । अब हामीले मुद्रालाई आमजीवनको पाटो बनाउन सक्नुपर्छ । हुन त केही दशकअघिदेखि योगासनहरूको व्यापक प्रचार र अभ्यास हुन थालेको हो । जसअन्तर्गत टोलटोल र घरघरमा योग गर्ने प्रचलन सुरु भएको छ । 

मुद्रा अर्थात् खुशी

संस्कृतको ‘मुद्’ धातुबाट मुद्रा शब्द आएको हो । जसको अर्थ खुशी हो । यसरी हेर्दा जसले सहज रूपमा खुशी र आनन्द दिन्छ, त्यही मुद्रा हो । कुलार्णव तन्त्रअनुसार मुद्रा ‘मुद्’ धातुबाट बनेको हो । ‘मुद्’ भनको उल्लास र उमंग हो । ‘द्रा’ भनेका तान्नु वा खिच्नु हो । उल्लास वा आनन्द खिच्ने क्रिया नै मुद्रा हो । सामान्य अर्थमा भावभंगिमा र संकेतलाई मुद्रा भन्न सकिन्छ । अर्थात्, मन मात्रको भावलाई तनले संकेत गर्नुलाई पनि मुद्रा भनिन्छ ।

मुद्राले मनलाई सहज रूपमा शान्त र आनन्दित बनाउने कार्य गर्छ । ध्यानको तीव्र प्रचारप्रसारपश्चात् मानिसहरू ध्यानतर्फ आकर्षित भइरहेका छन् । ध्यान सेन्टर र आश्रमहरू खुल्ने क्रम तीव्र छ । तर, अधिकांश मानिसलाई ध्यान लाग्दैन । मानिस ध्यान गर्न खोज्छ । ध्यान गर्नु शारीरिक र मानसिक स्वास्थ्यको दृष्टिले महत्वपूर्ण छ भन्ने कुरामा पनि आममानिसको स्वीकारोक्ति भइसकेको छ । तर, ध्यान नलाग्ने समस्याबाट मानिसहरू पीडित छन् । हिजोआज ध्यानसम्बन्धी समस्या र जिज्ञासा लिएर आउने अधिकांश मानिस जति कोसिस गर्दा पनि आफूलाई ध्यान नलाग्ने गरेको बताउँछन् । ध्यान लाग्नका लागि मन शान्त हुनुपर्छ । मनमा तनाव हुनेबित्तिकै ध्यान लाग्दैन । मनलाई शान्त र खुशी बनाउने कार्य मुद्राबाट सम्भव हुन्छ । 

अष्टांग योग
अष्टांग योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको व्याख्या गरिएको छ । अर्थात्, योगका छ चरणपछि मात्र ध्यान आउँछ । अष्टांग योगमा बहिरंग योग र अन्तरंग योग समावेश छन् । यम, नियम, आसन, प्राणायामसम्मको चरण बहिरंग योगको चरण हो भने प्रत्याहार, धारणा, ध्यान र समाधि अन्तरंग योग हो । अहिले योग भनेर प्रचलनमा रहेका योगासनहरू बहिंरग योगमा पर्छन् । जबसम्म मानिस बहिरंग योगबाट अन्तरंग योगसम्म पुग्दैन, तबसम्म उसमा रूपान्तरण हुन सक्दैन । खास गरी, योग गरेपछि मानिस सिर्जनशील, शान्त र आध्यात्मिक हुन्छ भनिन्छ । तर, योगासान वा बहिरंग योगले मात्र यो चरणसम्म पु¥याउँदैन । योगासनले स्वास्थ्यलगायत शारीरिक तथा केही मानसिक फाइदा प्राप्त गर्न सकिन्छ । तर, योगले निर्दिष्ट गरे अनुरूपको मानसिकता रूपान्तरण हुन सक्दैन । योगले मानिसलाई देखिने र बुझिने गरी रूपान्तरण गर्न सक्नुपर्छ । गीतामा कृष्णले ‘योगः कर्मसु कौशलम्’ भनेका छन् । अर्थात्, योग कर्ममै अभिव्यक्त हुन्छ । कसैले म नियमित योग गर्छु भनेर हुँदैन । उसको कर्ममा नै योग झल्किनुपर्छ । योग कर्ममै देखिनका लागि योग साधना अन्तरंग योगसम्म पुग्नैपर्छ । 

बहिरंग योगबाट अन्तरंग योगमा फड्को मार्नका लागि मुद्राको महत्वपूर्ण भूमिका हुन्छ । किनकि, मन खुशी भएपछि मात्र धारणामा प्रवेश गर्न सकिन्छ । धारणापश्चात् मात्र ध्यानमा पुग्न सकिन्छ । अझ यसलाई सहज रूपमा भन्नुपर्दा जीवनका लागि धारणा अर्थात् एकाग्रता महत्वपूर्ण पक्ष हो । अत्यन्तै ऊर्जा लिएर आएका मानिसहरू पनि एकाग्रताको अभावमा अगाडि बढ्न सक्दैनन् । एकाग्रताको लागि मन खुशी हुनैपर्छ । तपार्इं एकाग्र हुन सकिरहनुभएको छैन भने निश्चिन्त हुनुस्, तपाईंको मन दुःखी छ । एकाग्रता नै अन्तरंग योगको पूर्वाधार हो । 

अहिले बहिरंग योगको व्यापक प्रयोग र चर्चा छ । यो राम्रो हो । तर, बहिरंग योगलाई नै पूर्ण योग मानियो भने योगबाट उच्च लाभ लिन सकिन्न । अन्तरंग योग अन्तर्गतको ध्यान पनि तीव्र प्रचलित हुँदैछ । तर, ध्यान नलाग्ने समस्याका कारण मानिसले ध्यानबाट लाभ लिन सकिरहेका छैनन् । ध्यानबाट फाइदा लिन नसक्नुको प्रमुख कारण नै मानिसको एकाग्रता बिथोलिनु हो । एकाग्रताको आधार नबनीकन ध्यानमा प्रवेश नै गर्न सकिन्न । 

एकाग्र हुन मुद्राको महत्वपूर्ण भूमिका रहन्छ । मुद्रा अभ्यासका लागि निश्चित समय, स्थान र अवस्था आवश्यक पर्दैन । हुन त कतिपय मुद्रा प्रयोगका लागि पनि निश्चित विधि–विधान नभएका होइनन् । तर आमरूपमा मुद्राको प्रयोग जुनसुकै बेलामा पनि गर्न सकिन्छ । योगासनबाट योजनाबद्ध साधना, कठोर अभ्यास र ठूलो लगानीपश्चात् मात्र प्रतिफल प्राप्त हुन्छ । तर, साह्रै थोरै लगानी र सहज अभ्यासबाट ठूलो प्रतिफल लिने हो भने मुद्रा नै एक मात्र विकल्प हो । तसर्थ मुद्राको विषयमा चर्चा हुनु आवश्यक छ । मुद्रा अभ्यासलाई आमजीवनसँग जोड्न सकियो भने यसबाट अर्थपूर्ण लाभ लिन सकिन्छ । अर्थात्, अहिलेको युगले निर्दिष्ट गरिरहेको नानो प्रविधि जस्तै सूक्ष्म र सानो भनिएको मुद्राको अभ्यास र प्रयोगबाट मानव मनको ठूलो रूपान्तरण सम्भव छ । manokranticentre@gmail.com


 

प्रतिक्रिया