कांग्रेसद्वारा अमानवीय घटनाका दोषीलाई कारबाही गर्न माग

राम्रो अनलाइन     १६ चैत २०७७, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसले बाग्लुङको अमानवीय घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय भएको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बताएका छन् । 

होलि खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न कांग्रेसले सरकार समक्ष माग गरेको छ । घटनामा प्रकाश कुंवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका थिए ।

 कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको भन्ने प्रश्न उब्जिएको कांग्रेसले बताएको छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुगेको थियो ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कार्वाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गरेको हो । 

प्रतिक्रिया