काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा सत्ता समीकरण र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने केन्द्रीय सदस्य एनपी साउदले बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग सहकार्य गनै कि प्रतिपक्षमा बस्ने भन्नेबारे कांग्रेसले अहिलेसम्म धारणा बनाएको छैन । हिजो मात्रै माओवादीको स्थायी समिति बैठकले कांग्रेसलाई सत्ता सहकार्य को सँग गर्ने हो प्रष्ट हुन आग्रह गरेको थियो ।
तर, आफूलाई भेट्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो ओलीलाई दिएको समर्थन फिर्ता लिएर मात्रै आफूसँग कुरा गर्न आउन भनेका थिए ।
यसैबीच तत्काल ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न माओवादी र जसपासँग सत्ता समीकरणको प्रयास गर्नु पर्ने बताउँदै आएको पार्टीभित्रको नेता रामचन्द्र पौडेल समूहको गुटगत भेला बैठक अघि हुँदैछ ।
मध्यान्ह १२ बजे पौडेल समूहको भेला हुन लागेको पौडेल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । पौडेल समूहले आफ्नै नेतृत्वको सरकार बनाउन सभापति देउवालाई दबाब दिने रणनीति बनाइरहेको छ ।