नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘भद्रगोल’मा म ‘काकु’को भूमिकामा छु। यो मेरो आफ्नै सिर्जना हो। ‘बाङ्गे’ बनेर ‘मेरी बास्सै’मा पनि अभिनय गरेको छु। तर, बाङ्गेले खासै चर्चा कमाउन सकेन।
काकु समाजको यस्तो पात्र जसलाई कसैको केही कुरा चित्त बुझ्दैन। आफूले भनेको मात्र हुनुपर्ने मान्यता छ उसको। सुरुमा काकुलाई शहरको बनाइएको थियो। तर, यो दर्शकले खोजेजस्तो भएन। काकु रक्षासँग गाउँमै बस्ने भएपछि दर्शकले मन पराउन थाल्नुभयो। मलाई काकु बन्न ३५ मिनेट लाग्छ। मेकअप र लुगाबाटै ६० वर्षको काकु बन्नुपर्ने हुन्छ।
म रियलमा जस्तो छु, काकु बन्दा आकाश–पातालको फरक हुन्छ। सुटिङ हेर्न आउनेले ठम्याउनै सक्दैनन्। गालामा हल्का चाउरी, हल्का फुलेको दाह्री, कालो कोट–प्यान्ट र बन्दुक बोकेपछि म काकु बन्छु। मेकअपमा थोरै पनि यताउति भयो भने काकाजस्तो नदेखिन सक्छु। त्यसैले आफ्नो भूमिकालाई न्याय गर्न मेकअपमा एकदमै ध्यान दिने गरेको छु।
काकुको मेकअप गरेपछि अलि–अलि ढाड कुप्राएर बोलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ। साँच्चै बोल्नेभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुपर्छ मैले काकुका लागि। बोली फेरिँदा लामो डाइलग बोल्न गाह्रो हुन्छ। लामो डाइलग भन्न धेरै प्य्राक्टिस गर्नुपर्छ।
कहिलेकाहीँ त लामो डाइलग बोल्दा बीच–बीचमा घाँटी बस्ने, स्वरै नआउने हुन्छ। त्यसैले पहिलादेखि नै डाइलग, स्क्रिप्ट कण्ठ पार्ने गर्छु। पहिला–पहिला एक सिनका लागि तीन–चार टेकसम्म लिन्थेँ। अहिले एकै टेकमा ओके हुन्छ।
काकुले बोक्ने बन्दुकको दर्शकमाझ खूबै चर्चा हुन्छ भनेर सुन्छु। हो पनि, काकु बन्दुकबिना अधुरो छ। क्यारेक्टरमा यति डुबिन्छ कि कहिलेकाहीँ त सुटिङ सकेर बाहिर आइसकेपछि पनि मेरो बोली काकुकै हुन्छ।