जसपा अध्यक्ष ठाकुरले स्वीकारेनन् माओवादीको प्रस्ताव

राम्रो अनलाइन     ०७ चैत २०७७, शनिबार
जसपा अध्यक्ष ठाकुरले स्वीकारेनन् माओवादीको प्रस्ताव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले  माओवादी केन्द्रले राखेको सत्ता समीकरणको प्रस्ताव अस्वीकार गरेका छन् । उनले सत्ता समीकरणका लागि आफूहरूलाई अन्य दलहरूसँग भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहज हुने बताएका छन् । 

माओवादी नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहालको दुत बनेर शुक्रबार राति ठाकुरको निवास कौशलटारमा पुगेका थिए । उनले प्रचण्डको प्रस्ताव ठाकुरसँग राख्दा आफूहरूलाई अहिले सत्ता समीकरणका लागि अन्य दलसँग भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहज हुने जवाफ फर्काएका थिए । 

पुनले ठाकुरसँग उनीहरूका मागका विषयमा कुरा राखेको तर, ठाकुरले स्पष्ट जवाफ नदिएको निकटस्थहरूसँग बताएका छन् । 

जसपामा अहिले सत्ता समीकरणमा कसलाई सहयोग गर्ने भन्ने विषयमा मतैक्यता छैन । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् ।

संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतर समूहसँग सत्ता समीकरण गर्नु पर्ने बताइरहेका छन् । जसपामा दुई पक्षको फरक फरक धारणाका कारण पार्टीले कुनै निर्णय लिन सकिरहेको छैन् ।

 
जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्नेलगायतका माग राख्दै आएको छ । रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारेमा पार्टीले निर्णय गर्ने जसपाको भनाइ छ । 
 

प्रतिक्रिया