जसलाई जंगलले तालिम दियो

राम्रो अनलाइन     २९ चैत २०७७, आइतबार
जसलाई जंगलले तालिम दियो

नेपाली लोकगीतकी लोकप्रिय गायिका हुन्, देवी घर्तीमगर। २०६१ सालयता गायनमा सक्रिय उनले अहिलेसम्म पाँच हजारभन्दा बढी लोकगीत गाइसकेकी छिन्।

‘बतासैले रुमाल फरर’ उनको पहिलो गीत हो। जो खासै हिट भएन। त्यसपछि उनले पहिलो एल्बम ‘बन्दीपुरे उकाली’ निकालिन्। एल्बममा उनको स्वर धेरैले रुचाए। त्यसपछि उनको ‘आयो बरै लोकतन्त्र’ गीत निस्कियो। गीत हिट भयो। यस गीतबाट उनी धेरै स्रोतामाझ ‘नोटिस्ड’ भइन्। यसै गीतलाई उनी आफ्नो गायन यात्राको ‘टर्निङ प्वाइन्ट’ मान्छिन्।

‘बिर्सियौ कि कुन्नि’, ‘फूलमा मौरी’, ‘हाँस्न सिकायौ’, ‘लाहुरे बाउकी छोरी’ लगायत उनका थुप्रै चर्चित लोकगीत छन्। अहिले चर्चित लोकगायिकाको  परिचय बनाएकी देवीको बाल्यकाल भने त्यति सुखद थिएन। ‘मेरो बाल्यकाल दुःखमा बित्यो,’ उनी भन्छिन्, ‘कुटोकोदालो, खेतबारी, मेलापात गर्दै बित्यो।’

घरायसी काममा बढी व्यस्त हुने भएकाले पढाइतिर खासै ध्यान नगएको उनी बताउँछिन्। जेनतेन कक्षा नौसम्म पढिन्। ‘सानोमा पढाइमा खासै मन जान्थेन, बरु नाच्ने–गाउने ध्याउन्न बढी हुन्थ्यो,’ उनी सम्झन्छिन्।

रेडियोमा गीत सुन्थिन्, देवी। ‘रेडियोमा गीत सुन्दासुन्दै कतिबेला गीत गाउने रस बसेछ पत्तै पाइनँ,’ उनी भन्छिन्, ‘रेडियोमा बज्ने लोकगीतका कुनै कार्यक्रम छुटाउँदिनथेँ। कुरेर बस्थेँ। कार्यक्रम छुट्छ भनेर खेतमा जाँदा झोलामा रेडियो बोकेर जान्थेँ।’ गाईवस्तु चराउन जंगल जाँदा ठूलठूलो स्वरले वनै थर्किने गरी गीत गाउने गरेको उनी सम्झिन्छिन्।

वनपाखालाई उनी आफूलाई गीत गाउन सिकाउने ‘तालिम केन्द्र’ भन्न रुचाउँछिन्। भन्छिन्, ‘रेडियोमा भाका सुन्थेँ। जंगलमा गएर दुरुस्तै गाउने अभ्यास गर्थें। जंगल मेरा ट्रेनिङ सेन्टर हुन्।’ गाउँघरमा हुने लोकदोहोरी कार्यक्रममा उनी सहभागी हुने गर्थिन्। ‘हाम्रो गाउँमा हुने दोहोरी प्रतियोगितामा प्रायः फस्टै हुन्थेँ,’ उनी सुनाउँछिन्।

देवी गायिका ज्ञानु राणाबाट प्रभावित थिइन्। ‘ज्ञानु राणा दिदी हाम्रै गाउँको हो,’ उनी भन्छिन्, ‘उहाँ काठमाडौँमा बस्नुहुन्थ्यो। उहाँले काठमाडौँमा गीत गाउनुहुन्छ भन्ने थाहा पाएपछि मलाई पनि गीत गाउने रहर जाग्यो।’ संगीतका लागि उनले काठमाडौँलाई गन्तव्य बनाइन्। बाग्लुङ बजारसम्म नटेकेकी देवीका लागि काठमाडौँ महाभारतै थियो।

जसोतसो दाइको सहयोगमा २०६१ सालमा काठमाडौँ छिरिन्। ‘सुरुमा यहाँ आउँदा त आत्तिएकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘ठूलठूला अग्ला घर। आउने–जाने बाटो भुल्थेँ। हराउँछु जस्तो लाग्थ्यो।’ काठमाडौँमा बस्न उनलाई लक्ष्मी भुजेल र ज्ञानु राणाले सहयोग गरे। ‘उहाँहरूको सहयोगले यहाँ खान–बस्न धेरै सहज भयो,’ उनी भन्छिन्।

सुरुमा देवीले ‘लालीगुराँस दोहोरी साँझ’मा काम पाइन्। ‘ज्ञानु दिदीकै कारण त्यहाँ काम गर्ने मौका पाएँ,’ उनी भन्छिन्, ‘सुरुमा स्टेजमा गाउँदा डर लाग्थ्यो, लाज लाग्थ्यो।’ गीत गाएबापत दोहोरी साँझबाट उनले चार हजार रुपैयाँ पाइन्। ‘पहिलो पटक गीत गाएर त्यति पैसा कमाउँदा धेरै खुशी लागेको थियो,’ उनी भन्छिन्।

दोहोरी साँझमा काम गर्दागर्दै उनले गन्धर्व संगीत विद्यालयमा एक वर्षको कोर्स गरिन्। त्यतिबेला स्टेजमा एउटा गीत गाउन दिनभरि कुर्ने उनी बताउँछिन्। ‘बल्लतल्ल पालो आउँथ्यो,’ उनी भन्छिन्, ‘एउटा गीत गाउन दिनभरि कुर्नुपथ्र्यो।’ गाउन आफू जतिखेर पनि तयार रहने उनी सुनाउँछिन्। ‘राति १२ बजे गीत गाउन स्टुडियो जान्थेँ,’ उनी सम्झिन्छिन्, ‘स्टुडियोबाट जतिखेर फोन आउँथ्यो, उतिबेला नै उठेर गाउन कुदिहाल्थेँ।’

लोकगायक राजु ढकालसँग २०६५ सालमा उनले लगनगाँठो कसिन्। बिहेले आफ्नो गायन करिअरमा कुनै असर नपारेको उनी बताउँछिन्। ‘घरपरिवारमा सबै जना गीत गाउनुहुन्छ,’ उनी भन्छिन्, ‘सबैको सोख मिलेपछि सहयोग र साथ पाएँ।’ सबैको साथ र सहयोगकै कारण आफूले उत्कृष्ट लोकगायिकाका थुप्रै अवार्ड जितेको उनको भनाइ छ।

प्रतिक्रिया