जोशीको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

राम्रो अनलाइन     २५ चैत २०७७, बुधबार
जोशीको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् । 

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताए । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए । आँखामा राख्दा नबिझाउने नेता स्व जोशी भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताए । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले जोशीले दुःखका बेला राजनीति गरेको बताइन् । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनले बताइन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले स्व जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताए । 

प्रतिक्रिया