काठमाडौँ–बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे।
समारोहमा चीनको जनकांग्रेस थाई कमिटीका उपाध्यक्ष सिआओ चीले जलवायु परिवर्तन न्यूनीकरणका लागि चीनले जिम्मेवार ठूला राष्ट्रका रूपमा आफ्नो भूमिका जारी राख्ने बताए । “चीन, नेपाल तथा अन्य हिमालयन क्षेत्रका देशहरूसँग मिलेर पारिस्थितिक शासन प्रणाली र समृद्धिमा सुधार ल्याउने, साझा विकास प्रवद्र्धन गर्ने, तथा विभिन्न सभ्यताबाट भविष्यका लागि सिकाइलाई अझ गहन बनाउने उद्देश्यले सहकार्यलाई अगाडि बढाउनुपर्छ ।
दिगो भविष्य निर्माणका लागि चीन सहकार्य गर्न तयार छ”, उनले भने, “चीनले आफ्नो जलवायु कार्यहरूमा गति घटाउने छैन, चीनले अन्तरराष्ट्रिय सहकार्यप्रतिको समर्थन कम गर्ने छैन र पृथ्वीमा सबै जीवनको समुदाय निर्माण गर्ने प्रयासहरू रोक्ने छैन । जलवायु परिवर्तनसँग जुध्नु सबै मानवताको साझा उद्देश्य हो ।”