जेलमुक्त भएँः निवर्तमान प्रदेश प्रमुख 

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
जेलमुक्त भएँः निवर्तमान प्रदेश प्रमुख 

पोखरा, २१ वैशाख  : गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले पदबाट अपदस्त भएपछि जेलमुक्त भएको टिप्पणी गरेका छन् । आफूलाई प्रदेश प्रमुखको पदमा बाध्यकारी नियुक्ति दिइएको भन्दै पदबाट निस्कनुलाई जेलमुक्त भएको बताएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गरिदिएकोमा आभारी रहेको सुनाए । ‘आज अत्यन्त खुसी छु, मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यू, अस्विकार गरेको पद थियो,’ शेरचनले भने । 
आफू पदमुक्त हुने सुइँको पनि नपाएको र एकासी मिडियाबाट जानकारी पाएको उनले सुनाए । आफूले पदमा बस्दा कुनै असंवैधानिक काम नगरेको उनको दाबी थियो । 
शेरचनले आफू पदलोलुप मान्छे नभएको र आफैंले राजीनामा गर्न चाहेको उनले सुनाए । ‘म आफैं राजीनामा गर्न चाहन्थे, ओलीले संसद विघटन गरेपछि राजीनामा लिएर गएको थिएँ, प्रचण्डले फर्काइदिए,’ उनले भने । 
आफूले राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्विकार गरेको उनको दाबी थियो । ‘रामवरण पछि मलाई राष्ट्रपति हुन भनिएको थियो, ज्ञानेन्द्रको पालामा प्रधानमन्त्री बन्ने प्रस्ताव आएपनि अस्विकार गरेको थिएँ,’ शेरचनले भने । 
प्रधानमन्त्री ओलीले सोमबार अमिक शेरचनलाई पदमुक्त गरेर सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया