काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन्। बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताएका हुन्।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा बुधवार दिउँसो दुर्घटना भएको एयर डाइनेष्टिको ९एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वाभाविक ढिलाइ भएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए।
दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकूल मौसमका बाबजुद उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुन नसकी राती पनि सोही स्थानमा नै रहेको जानकारी गराए। करिब १५ दिनको अवधिमा दुई वटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निष्कर्षसहित मन्त्रालयले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राख्दै आजैबाट तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।
यसै बिच मन्त्रीले एक हप्ताभरका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमलाई स्थगित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायहरूलाई परिचालन गर्ने तयारी गरिएको जनाएको छ ।