‘हजुर मुसुक्कै’ म्युजिक भिडियो सार्वजनिक 

राम्रो अनलाइन     ०१ फागुन २०७८, आइतबार

 

अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहबीच १२ वर्षयता विभिन्न अवार्ड समारोह र चलचित्रका लागि भएका मिटिङमा भेट भएको थियो । तर उनीहरुले एकसाथ काम भने गरेका थिएनन् ।

१२ वर्षसम्म एकसाथ पर्दामा नदेखिएका राजेश र निरुताले आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतमा सँगै काम गरेका छन् । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा राजाले गर्ने प्रेमको कथामा यो भिडियो तयार पारिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले भने, ‘निरुताजी र मैले एकसाथ काम नगरेको १२ वर्ष भएको थियो । तर कहाँ जालिस् मछली मेरै ढडिया भनेजस्तै भयो । एउटै क्षेत्रमा काम गरेपछि कहीं न कहीं भेट त भइहाल्छ ।’

निरुताले पनि मछलीलाई कसैले पनि ढडियामा पार्न नसकेको भन्दै बल्ल अवसर जुरेको बताइन् । कार्यक्रममा राजेश र निरुताबीच केही समय रमाइलो कुराकानी चलेको थियो । निरुताले राजेश हमालसँग म्युजिक भिडियोमैै भएपनि काम गर्न पाएकोमा खुसी लागेको बताइन् ।

१२ वर्षपछि भेट्दा निरुतामा के परिवर्तन पाउनुभयो त भन्ने प्रश्नमा राजेशले भने, ‘१२ वर्षअघि उहाँ हुर्किंदै हुनुहुन्थ्यो । अहिले भरपुर जवानी चढेछ । पर्नु पीर पर्‍यो ।’

जवाफमा निरुताले भनिन्, ‘उहाँ बल्ल २१ वर्षको जस्तो हुनुहुन्छ । म त स्विट १६ हो । आज भेट्दा त २१ बाट पनि तल झर्नुभयो कि जस्तो लाग्दैछ ।’

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको अभिनय छ ।

प्रतिक्रिया