काठमाडौँ–निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयर लिमिटेडले उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने जनाएको छ । स्थापनाको २३ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सुरक्षित एवं अत्याधुनिक हेलिकप्टर सेवा प्रदान गर्न कम्पनी निरन्तर प्रयत्नरत रहेको बताए। नेपालको भौगोलिक अवस्थाका कारण हेलिकप्टर सेवा अति आवश्यक यातायातको साधन बन्न पुगेको भन्दै उनले यो सेवालाई समय सापेक्ष गुणस्तररीय र सर्वसुलभ बनाउन कम्पनीले पहल गर्ने बताए।
क्याप्टेन थापाले भने, ‘सुरक्षित र व्यवस्थित हेलिकप्टर सेवाका लागि सिम्रिकले पहलकदमी लिँदै आएको छ, विभिन्न चुनौति रहे पनि आगामी दिनमा सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन लागिपछौँँ ।’
महँगो भए पनि आपतकालीन उडान, उद्धार उडान, अत्यावश्यक सामग्री ढुवानीका लागि हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हाल १२ हेलिकप्टर कम्पनीका करिब ४० हेलिकप्टरमध्ये ३५ भन्दा बढी हेलिकप्टर सञ्चालनमा छन् ।
हेलिकप्टर कम्पनीले चाटर्ड उडान, कार्गो उडान, उद्धार उडान मार्फत सेवा प्रदान गर्दै आइरहेका छन् । आन्तरिक द्वन्द्वका क्रममा घाइतेको उद्धार उडान, गर्नेदेखि ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्ने, प्रकोपका समयमा प्रकोप नियन्त्रण र क्षती रोकथाम गर्ने कार्यदेखि बिरामीको उपचार हेलिकप्टर कम्पनीको विशेष भूमिका रहेको छ । एमआई १७ हेलिकोप्टरबाट सेवा सुरु गरेको सिम्रिक एयरले सन् २०१२ मा नेपालमै पहिलो पटक एयरबस बी३इ हेलिकप्टर भित्र्याएको थियो । ‘लङ्ग लाइन रेस्क्यु’ लगायतका टेक्निकल उद्धार गरी सयौँ व्यक्तिको ज्यान जोगाउन सफल भएको कम्पनीले जनाएको छ ।
नेपालमै पहिलो पटक ‘फायर फाईटिङ इक्युपमेन्ट’ मा लगानी गरेको कम्पनीले पछिल्लो डडेलो नियन्त्रणमा भूमिका खेलिरहेको छ । हाल कम्पनीले ‘एरियल कन्ट्रक्सन सपोर्ट’ को प्रविधि प्रयोगमा ल्याएको जनाएको छ । यस्तै कम्पनीले पहिलोपटक ‘हेलिपोर्ट’ स्थापना गर्ने लक्ष्य लिएको छ । हेलिपोर्ट निर्माणका लागि भौतिक काम पनि गाडी बढी सकेको जनाएको छ । उद्धार, प्रकोप, क्षति न्यूनीकरणका साथसाथै हेलिकप्टर सञ्चालनले नेपाली पर्यटन विकासमा टेवा पुगेको छ ।
‘हेलिकप्टर म्याग्जिन’ विमोचन
सिम्रिक एयरले हेलिकप्टरसम्बन्धी सम्पूर्ण जानकारी दिने अङ्ग्रेजी भर्सनको ‘हेलिकोप्टर नेपाल’ नामक म्याग्जिन प्रकाशन सुरु गरेको छ । हेलिकप्टर सञ्चालनका उपलब्धि, सम्भावना र चुनौतीलाई हेलिकाप्टर म्याग्जिनमार्फत दस्तावेज गर्ने उद्देश्यले कम्पनीले पहिलो पटक हेलिकप्टर म्याग्जिन ल्याएको हो ।
म्याग्जिनले सुरक्षासम्बन्धी छलफल, जोखिम न्यूनीकरणमा नयाँ भूमिका खेल्न एवं हेलीकर्मीको उत्साह बढाउनुका साथै ‘हेलि टुर’ खण्डले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । प्रत्येक संस्करणमा ओझेलमा परेको सम्भावित गन्तव्य खोज गरी पाठक समक्ष पुर्याउने लक्ष्य रहेको म्याग्जिनले ‘हेलि टुरिज्म’ को विकास र हवाई सुरक्षा अभिवृद्धिमा विशेष भूमिका खेल्ने जनाएको छ ।